• १५ साउन २०८२, बिहिबार

भोटेकोशी–त्रिशूलीमा आएको बाढीको बहाव घट्दै, नागरिकलाई सतर्क रहन आग्रह

blog

भोटेकोशी र त्रिशुली नदीमा एक्कासि जलसतह बढेपछि आएको आकस्मिक बाढी । तस्बिर सौजन्य : माधव अर्याल

गंगा कुमारी मिजार
रसुवा, साउन १४ गते ।
चीनको तिब्बत क्षेत्रमा परेको भीषण वर्षासँगै मङ्गलबार रातिदेखि नेपालतर्फको भोटेकोशी र त्रिशूली नदीमा एक्कासि जलसतह बढेपछि आकस्मिक बाढी आएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान २ बजेदेखि नै सतर्कता सूचनासहित स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीको मुख्य कारण यकिन नभए पनि चीनतर्फ ठूलो वर्षा भएको वा अघिल्लो पटकजस्तै हिमनदी फुटेको हुन सक्ने अनुमान गरिएको छ । त्रिशूली ३B हव क्षेत्र तथा उत्तरगया आसपासमा नदीको बहाव तीव्र रूपमा बढेको देखिए पनि अहिले जलसतह क्रमशः घट्दै गएको जानकारी प्राप्त भएको छ ।

प्रारम्भमा लेदो मिसिएको बाढी हाल पानीको रूपमा बगिरहेको छ भने रसुवागढी क्षेत्र हुँदै बग्ने त्रिशूली नदीको सतह समेत घट्दो क्रममा रहेको जनाइएको छ । उद्यपि, हालसम्म कुनै मानवीय क्षति भएको विवरण आएको छैन ।

बाढीको जोखिम बढेपछि प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली तुरुन्तै प्रभावित क्षेत्रमा परिचालित भई नदी किनारका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

जिल्ला प्रशासनले रसुवा, नुवाकोट र धादिङका नदी किनार क्षेत्रमा रहेका बस्तीहरूलाई अझै पनि सतर्क रहन आग्रह गरेको छ । साथै खोलामा माछा मार्न जाने, बगेर आएका काठ/दाउरा टिप्न जाने जस्ता जोखिमपूर्ण गतिविधिबाट टाढा रहन चेतावनी दिइएको छ ।

यसअघि असार २४ गते ल्हेन्दो खोलामा आएको विनाशकारी भेलबाढीले केरूङ नाका जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका दर्जनौं गाडी पुरेको थियो । त्यही सडकखण्ड अहिलेको बाढीबाट पुनः क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ ।

हाल स्थानीय प्रशासन, नेपाली सेना र प्रहरीको टोली प्रभावित क्षेत्रमा अनुगमन, उद्धार र व्यवस्थापनमा खटिएको छ । मौसम अझै पूर्णरूपमा स्थिर नभएकाले बाढीको जोखिम कायमै रहेको भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले पुनः अनुरोध गरेको छ ।