नवराज कट्टेल
विराटनगर, साउन १४ गते । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो ।
विसं २०८२ वैशाख २१ गते प्रयोगशालामा पहिलो नमुना आएको थियो । त्यसयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कुरियरमार्फत आएका एक हजार तीन सय नमुनाको परीक्षण भएको छ । नमुना परीक्षणपछि सेवाग्राहीलाई त्यसको रिपोर्ट मोबाइल नम्बर, क्युआर र युजरआइडीबाट हेर्न मिल्ने सुविधा रहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत रेवती ढुङ्गानाका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ३९१ जना सेवाग्राहीको नमुना सङ्कलन र परीक्षण गरिएको छ ।
जसमा इन्डोक्राइनोलोजी अन्तर्गत ५७ वटा नमुना १० हजार चार सय, माइक्राबायोलोजी अन्तर्गत १५ नमुनाको एक हजार एक सय, हेमाटोलोजी अन्तर्गत ३७ वटा नमुना १५ हजार चार सय, बायोकेमिस्ट्री अन्तर्गत ५८ नमुनाको ४० हजार तीन सय र मोलिक्युलर टेस्ट अन्तर्गत चार प्रकारका नमुना दुई हजार तीन सय छन् । जम्मा नमुना ८३ हजार पाँच सय वटा सङ्कलन र परीक्षण गरिएको प्रदेश जनस्वास्थ्यले जनाएको छ ।
विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस प्राङ्गण (पुरानो हवाई फिल्ड) मा जनस्वास्थ्य प्रयोगशालाको संरचना स्थापना गरिएको छ । अघिल्लो आव २०८०/८१ मा १२ हजार ५१० जना सेवाग्राहीको ५८ हजार ५०२ नमुना परीक्षण गरिएको थियो । प्रयोगशालाबाट इन्डोक्राइनोलोजी, माइक्राबाइलोजी, पारासिटोलोजी, हेमाटोलोजी, इम्युनोलोजी, भाइरोलोजी, बायोकेमेस्ट्री, मोलिक्युलर, हिस्टोसाइकोप्याथोलोजी र इन्फ्लुएन्जासँग सम्बन्धित परीक्षण हुँदै आएका छन् ।
प्रयोगशाला अधिकृत ढुङ्गानाका अनुसार कडा रोग लागेका नागरिक र ज्येष्ठ नागरिकले कुनै पनि किसिमको परीक्षण गराउँदा ९० प्रतिशत छुट दिइने गरिएको छ । प्रयोगशालामा मिर्गाैलाको डायलासिस गराइरहेका बिरामी गर्नुपर्ने नियमित परीक्षण, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको तोकिएको अवधि (तीन महिनाको एक पटक) र अन्य समयमा गर्नुपर्ने परीक्षण, क्यान्सर थाल्सेमिया, हेमोफिलिया, सिकलसेल, एनेमिया र एचआईभी सङ्व्रmमित व्यक्तिलाई लाग्ने शुल्कमा ९० प्रतिशत छुट दिइएको छ ।
यसै गरी सहिद परिवार एवं विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, अति विपन्न तथा द्वन्द्व प्रभावित, हिंसामा परेका नागरिक, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले परीक्षणमा ९० प्रतिशत छुटमा सेवा लिँदै आएका छन् । यसै गरी कोशी प्रदेश सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारी र निजका परिवारका साथै त्रिविवि अन्तर्गत स्नाकोत्तर क्याम्पस विराटनगरका कर्मचारीलाई लाग्ने शुल्कमा ५० प्रतिशत छुट सुविधा रहेको छ । कोशी प्रदेशका अन्य विद्यार्थी तथा खेलाडीलाई पनि ५० प्रतिशत छुटमा परीक्षण हुँदै आएको छ ।
एक वर्षको अवधिमा सेवा लिनेका लागि ६१ लाख ३४ हजार ७३५ छुट दिइएको छ । यसबाहेक सेवा शुल्कबापत प्रदेश सरकारको सञ्चित कोषमा एक करोड ६२ लाख ४२ हजार ३६२ रुपियाँ राजस्वबापत जम्मा भएको ढुङ्गानाले जानकारी दिनुभयो । जनस्वास्थ्य प्रयोगशालाबाट डेङ्गु, मलेरिया, कालाजार, एचआइभी, टिबी रोगसँग सम्बन्धित परीक्षण निःशुल्क हुने गरेको छ । आव २०७९/८० मा ३७ हजार ३४७ वटा परीक्षणमा छ हजार ५५० जना सेवाग्राहीले लाभ लिएका थिए ।
प्रयोगशालामा मुख्यतया चार वटा शाखा छन् । सर्ने रोग प्रयोगशाला शाखा, नसर्ने रोग प्रयोगशाला शाखा, गुणस्तर नियन्त्रण तथा तालिम शाखा र आर्थिक तथा प्रशासन शाखा छन् ।
विदेश पठाउनुपर्ने बाध्यता हट्यो
जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँसँग नमुना प्रेषण तथा परीक्षणका लागि सम्झौता गरेको छ । यसले विदेश पठाउनुपर्ने नमुना स्वदेशमै परीक्षण हुन थालेको छ । प्रदेशभरिबाट उपलब्ध भएका नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने भएमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पठाउँदै आएको छ । यसका लागि जिल्ला अस्पताल तथा नगर अस्पतालबाट प्रदेशमा र प्रदेशबाट राष्ट्रिय प्रयोगशालामा पठाउन पनि कुरियर सेवामार्फत ढुवानी हुने गरेको छ । जसका लागि एकीकृत सञ्जालीकरण गरिएको अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अझै पनि आमनागरिकले प्रयोगशाला रहेको जानकारी भने पाइसकेका छैनन् । जसका कारण बिहान ७ देखि साँझ ५ बजेसम्मको सेवालाई विस्तार गरेर २४ घण्टा दिने स्तरमा पुगिसकेको छैन । अधिकृत ढुङ्गानाका अनुसार यसलाई आइएसओ सर्टिफाइड गर्ने प्रव्रिmयासमेत थालिएको छ । आधुनिक प्रविधिसहितको प्रयोगशाला रहेका कारण नागरिकलाई जति सक्दो सुलभ सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । पछिल्लो समय भने निजी अस्पतालमा चिकित्सकसँग स्वास्थ्य जाँच गराएर प्रयोगशाला परीक्षण गराउने विराटनगरका सेवाग्राहीसमेत जोडिन थालेको बताइन्छ ।