• १५ साउन २०८२, बिहिबार

साढे १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा बरामद

blog

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसी । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी साउन १४ गते ।
सप्तरी प्रहरीले ठुलो परिणाममा अवैध मदिरा लगायतका सामान बरामद गरेको छ । भारततर्फ लैजान राखिएको अवस्थामा लाखौं मूल्य बराबरको मदिरा बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय राजविराजले दिएको हो ।

जिल्लाको राजगढ गाउँपालिका २ स्थित कमलपुर गाउँमा मदिराजन्य बस्तु भण्डारन गरी भारततर्फ बिक्रीका लागि लैजान राखिएको गोप्य सूचनाको आधारमा विभिन्न कम्पनीको १२ लाख ८८ हजार नौ सय ७५ रुपियाँ बराबरको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक केसीले मदिरा ओसारपसारमा प्रयोग भएका मोटरसाइकल र साइकल समेत फेला पारी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर थप अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । 

उहाँले अवैध मदिराजन्य बस्तु स्टोर गरी भारततर्फ बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक विरेन्द्र कुमार यादव, प्रहरी चौकी झुटकीका वरिष्ठ प्रहरी नायब निरीक्षक गणेशबहादुर न्यौपानेसहित प्रहरी टोलीले उक्त स्थानमा बाँसको टाटीको बेरा र मार्वलको छानो भएको ठुलो गोदाममा छापा मारेको थियो । सो स्थानबाट प्रहरीले विभिन्न ब्राण्डका मदिराका साथै गोदाममा भारतीय नम्बर प्लेट भएको चार मोटरसाइकल र ३४ थान साइकल समेत बरामद भएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक केसीका अनुसार मामाश्री दिलवाले ६ सय ४१ कार्टुन, कर्णाली गोल्ड ५ कार्टुन, कस्तुरी रक्सी ४३ कार्टुन,किङ्ग फिसर बियर क्यान ४७ कार्टुन, वृक्ष रक्सी चार कार्टुन, गोर्खा बियर क्यान २० कार्टुन, अर्ना बियर क्यान तीन कार्टुन मदिरा बरामद भएको जानकारी दिनुभयो । उहाँले  १२ लाख ८८ हजार नौ सय ७५ रुपियाँ बराबरको मदिरा, तीन लाख पाँच हजार मूल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयलाई बुझाउने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, प्रहरी निरीक्षक विरेन्द्र कुमार यादवलगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।