• १५ साउन २०८२, बिहिबार

बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा

blog

गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापा । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, साउन १४ गते ।
बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ । पूर्ण सरसफाईका ६ वटा सूचक पूरा गरी कार्यान्वयनमा समेत आइसकेकाले सो टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको पोषणमैत्री स्थानीय शासन कार्यक्रम बडिगाडका संयोजक तथा जनस्वास्थ्य निरीक्षक शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

चर्पिको सुरक्षित प्रयोग, व्यक्तिगत सरसफाई, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवम् कार्यालय र वातावरणीय सरसफाईसहितका मुख्य सूचक पुरा भएपछि टोललाई पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । बडिगाडका १० वटा वडालाई ६९ वटा टोलमा विभाजन गरी पूर्ण सरसफाइ तथा पोषणमैत्री सूचक कार्यान्वयनका काम गरिएपछि आठौं टोलको रुपमा सिमलचौलाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको हो ।

बहुक्षेत्रिय पोषण कार्यक्रमअन्तर्गत बडिगाड गाउँपालिकालाई २०८३ सालभित्र पूर्ण सरसफाई तथा पोषणमैत्री पालिका घोषणा गर्नेगरी कामहरु भैरहेका छन् । सो कार्यक्रममा सरसफाईमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुर्गा बहादुर विक, कुमारी राना, उजिरसिंह राना र देउमाया रानालाई सम्मान गरिएको थियो ।

यस्तै, बडिगाड गाउँपालिका २ स्थित गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले हरेक नागरिकले शुद्ध र सुरक्षित खानेपानी पाउनु उसको अधिकार भएको बताउनुभयो । थापाले धेरै रोगको सुरुवात फोहर पानीका कारण हुने भन्दै शुद्ध खानेपानीको लागि प्रदेश सरकार, स्थानीय तह र नेवा लगायतका संस्थाहरुले लगानी गरिरहेको बताउनुभयो ।

४३ घरपरिवारका २ सय ४० जना लाभान्वित भएको आयोजनाको कुल लागत २६ लाख ४२ हजार १ सय १२ रहेको छ । नेवाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको ४ लाख ७२ हजार तथा जनश्रमदान ६ लाख ४ हजार रुपियाँ लागतमा निर्माण आयोजना सुरु भएको एक वर्षभित्रै योजना सम्पन्न भएको हो ।