रमेश विश्वकर्मा
गुल्मी, साउन १४ गते । गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई करोड रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ । यस जिल्लामा शाखा र मातहतका तीनवटा खरिद बिक्री केन्द्र स्थापना भएदेखि गत आर्थिक वर्ष २०८१–०८२ सम्म दुई करोड ६९ लाख ५१ हजार ३७५ रुपियाँ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो ।
तम्घासमा २०८० पुस १ गते यस कम्पनीको शाखा स्थापनासँगै तीन स्थानमा खरिद बिक्री केन्द्र समेत सञ्चानल गरिएको थियो । गुल्मीबासी आम जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्ने उदेश्यसहित शाखाको स्थापना भएको हो । कम्पनीको शाखा स्थापना भएदेखि हालसम्म गुल्मीमा राम्रो परिणाममा खाद्यान्नको बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गुल्मीका शाखा प्रमुख लक्ष्मी भण्डारीले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भैरहवादेखि खाद्यान्न यहाँस्थित शाखा कार्यालय र खरिद बिक्री केन्द्रमा ल्याइने गरिन्छ । स्थापना भएको आर्थिक वर्ष २०८०–०८१ मा शाखा कार्यालय र खरिद बिक्री केन्द्रबाट ९८ लाख ४४ हजार २५ रुपियाँ मूल्य बराबरको चामल बिक्री गरिएको थियो । त्यस वर्ष लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट १ हजार ९७६ क्विन्टल चामल ल्याइएको थियो ।
जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तम्घास शाखा कार्यालयले ४६० दशमलव ५० क्विन्टल चामल ३६ लाख ८५ हजार १७५ रुपियाँ मूल्य बराबरको चामल बिक्री गरेको थियो । बलेटक्सार बिक्री केन्द्रले ४८३ दशमलव २५ क्विन्टल चामल ४२ लाख ३० हजार ६५० रुपियाँ, अर्खबाङ्ग बिक्री केन्द्रले ७२ क्विन्टल १३ लाख ६८ हजार ७५ रुपियाँ र बाँझकटेरी बिक्री केन्द्रले ३४ क्विन्टल चामल पाँच लाख ६० हजार १२५ रुपियाँ मूल्य बराबरको चामल बिक्री गरेको थियो ।
स्टिम जिरा मसिनो चामल, अरुवाँ मोटा चामल, अरुवाँ मध्यम चामल र अरूवा सोना मन्सुलि चामल, अरूवा साँवा चामल यहाँबाट बिक्री गरिएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०८१र०८२ देखि चिनी पनि बिक्री गर्न थालिएको छ । गतवर्ष यस जिल्लाबाट दुई हजार ३३७ दशमलव १० क्विन्टल चिनी र चामल १ करोड ७१ लाख ७ हजार ३४५ रुपियाँ मूल्य बराबरको बिक्री गरिएको हो ।
जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तम्घास शाखा कार्यालयले ८३९ दशमलव २५ क्विन्टल खाद्यान्न ५९ लाख ५७ हजार ५२५ रुपियाँ मूल्य बराबरको बिक्री गरेको थियो । बलेटक्सार बिक्री केन्द्रले ५५९ दशमलव ५० क्विन्टल खाद्यान्न ४५ लाख ४ हजार १२५ रुपियाँ, अर्खबाङ्ग बिक्री केन्द्रले ४२६ दशमलव ६० क्विन्टल ३० लाख २९ हजार २२५ रुपियाँ र बाँझकटेरी बिक्री केन्द्रले ५११ दशमलव ७५ क्विन्टल खाद्यान्न ३६ लाख १६ हजार ४७० रुपियाँ मूल्य बराबरको बिक्री गरेको थियो ।
कम्पनीले चाडपर्वको समयमा सहुलियतमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीको माग बमोजिम खाद्यान्नमा विविधता ल्याउने शाखाले तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गुल्मीका सूचना अधिकारी राजाबाबु साह तेलीले जानकारी दिनुभयो । खाद्यान्न बिक्री तथा खरिदका लागि यस जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।