साहारा लिम्बू
फुङलिङ, साउन १४ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको हो ।
‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नाराका साथ गाउँपालिकाले प्रत्येक वडाका किसानलाई खेती लगाउने तरिकाका साथ यसको व्यवस्थापनसम्बन्धी जानकारी गराउने गरी ‘एक वडा, एक कृषि प्राविधिक’ राख्ने भएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार किसानको घरदैलोमा प्राविधिक सेवा पुग्ने भएकाले पनि यो कार्य अपनाइएको हो । यस कार्यक्रमअन्तर्गत पालिकाले मुख्य उत्पादन दिने खेती क्षेत्रको वर्गीकरण गरी त्यसै आधारमा आवश्यक सिँचाइको व्यवस्था गरी उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिने भएको छ ।
यस्तै गाउँपालिकामा उत्पादन भएको तरकारी बाली पालिकाको मेवाखा क्षेत्रमा स्थापना भएको पाथीभरा कोसेली घरमार्फत बजार व्यवस्थापन गर्ने भएको छ । पाथीभरा याङवरक गाउँपालिकामा ६ वटा वडा छन् ।