• १४ साउन २०८२, बुधबार

गुल्मीका सहरदेखि गाउँसम्म व्याडमिन्टन मोह

blog

सत्यवति गाउँपालिका–६ जोहाङ्गमा निर्माण गरिएको खैरेनी व्याडमिण्टन कभर्डहल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन १४ गते ।
गुल्मीको सत्यवति गाउँपालिका–६ जोहाङ्ग खैरेनीमा करिब साढे दुई करोड रुपियाँको व्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । खैरेनी युवा क्लवले व्यावस्थापन गरेर कभर्डहल निर्माण गरिएको हो ।

क्लवका अध्यक्ष टीका बुढाथोकीका अनुसार व्याडमिन्टन कभर्डहलका लागि पारिश्वर ढकाल नेतृत्वको तत्कालीन सत्यवति गाउँपालिकाको कार्यपालिकाबाट २०७८/०७९ मा २० लाख रुपियाँ र टीकाराम पाण्डे नेतृत्वको कार्यपालिकाबाट २०७९/०८० मा २५ लाख रुपियाँ र २०८०/०८१ मा एक करोड ५९ हजार ९३ रुपियाँ विनियोजन भएको थियो । त्यस्तै सङ्घीय सांसद डा. चन्द्र भण्डारीको पहलमा एक करोड रुपियाँ विनियोजना भएको बुढाथोकीले बताउनुभयो ।

गाउँ–गाउँमा व्याटमिन्टन खेलको विकास हुँदै गएको छ । तिन वटा कोर्ट, म्याटसहितका आधुनिक सेवासहितको कभर्डहल निर्माण भएको छ । यो आर्थिक वर्षका लागि वडा नं ६ बाट एक लाख रुपियाँ विनियोजना भएको छ । अहिलेसम्म खैरेनी युवा क्लवले दुई लाख ४३ हजार रुपियाँ विनियोजन खर्च गरिसकेको छ । अझै करिव पाँच लाख बजेट खर्च गरेर लाइट, व्याकप र फिनिसिङ्गका काम सकिने बुढाथोकीले बताउनुभयो ।

खैरेनीमा २०६०/०६१ सालतिरबाट व्याडमिण्टन खेल्न थालेपनि अहिलेसम्म खुल्ला कोर्टमा खेल हुने गरेको बुढाथोकीले बताउनुभयो । स्थानीय तहपछि गाउँ–गाउँमा व्याटमिण्टन खेलको विकास र संरचना निर्माण भइरहेका छन् । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार रिडी, बलेटक्सार, थानपति र बम्घामा कभर्डहल निर्माण गरेर व्याटमिण्टन खेल्ने गरिएको छ । खुल्ला कोर्टमार्फत रुरुका धेरै ठाउँमा खेल हुन्छन् ।

संघ, प्रदेश र स्थानीय सरकार मार्फत कभर्डहल निर्माणमा करिव दुई करोड खर्च भएको ज्ञवालीले बताउनुभयो । त्यस्तै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलका अनुसार बर्बोट र हाडहाडेमा कभर्डहल र बाँकी धेरै स्थानमा खुल्ला कोर्टमार्फत व्याडमिण्टल खेल हुने गरेको छ । चन्द्रकोट गाउँपालिकाका बन्द र खुल्ला कोर्टसहितका छ वटा कभर्डहलहरु निर्माण भएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

जिल्ला व्याडमिण्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्टका अनुसार २०४०/०४१ तिरबाट तम्घासमा व्याडमिण्टन खेल सुरु भएको हो । गोर्खा वेलफेयर, दुरसंचार र जिल्ला प्रहरी कार्यालयको ग्राउण्डमा खुल्ला कोर्ट बनाएर खेल खेल्ने गरेकोमा २०५७ सालतिरबाट कच्ची चेते कभर्डहलमा खेलिएको श्रेष्टले बताउनुभयो । श्रेष्टले खेलकुद विकास समितिसहित पाँच/सात वटा व्याडमिण्टन कभर्डहल तम्घास बजारमा मात्रै रहेको बताउनुभयो । उहाँले कभर्डहलहरुको खर्चको अनुपातमा खेलको परिणाम प्रतियोगीताहरुमा नदेखिएको बताउनुभयो ।