सुजन वज्राचार्य
सङ्खुवासभा, साउन १३ गते । सङ्खुवासभाको मकालु गाउँपालिका–६ स्थित बास्थलाबाट करिब चार किलोमिटरमाथि बाक्लो जङ्गलको बिचमा अवस्थित ढुङ्गामाथिको माङ्मा पोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब ११ मिटर लम्बाइ, छ मिटर चौडाइ र तीन मिटर गहिराइ भएको यो प्राकृतिक पोखरी वर्षभरि कहिल्यै सुक्दैन । ठुलो ढुङ्गाको गर्भमा निर्मित यो पोखरी धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनायुक्त छ ।
स्थानीय राई, कुलुङ र मेवाहाङ समुदायका अनुसार माङ्मा पोखरीमा साक्षात देवताको बास रहेको मानिन्छ । मबहान पर्वको अवसरमा यहाँ पूजाआजा, धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको स्थानीय बज्रमान राईले बताउनुभयो । उहाँले नागदेवतासँग सम्बन्धित यो पवित्रस्थलमा बलि चढाउने वा अन्य हिंसात्मक कार्य पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो ।
बाबुबाजेको पालादेखि धार्मिक श्रद्धाको प्रतीक बनेको माङ्मा पोखरीलाई संरक्षण तथा प्रवर्धन गर्न स्थानीयस्तरबाट पहल सुरु भएको छ । स्थानीय अगुवा धनराज राईका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगमा पोखरीसम्मको बाटो मर्मत गरिएको छ । साथै भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको छ भने अब मन्दिर निर्माण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।