• १३ साउन २०८२, मङ्गलबार

पृथ्वीराजमार्ग एकतर्फी सूचारु

blog

चुन पहरामा खसेको पहिरो पन्छाएर एकतर्फी खुलाइएको सडक । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन १३ गते ।
पृथ्वीराजमार्गमाको डुम्रे–आँबुखैरेनी खण्डको अवरोध हटेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगर, चुनपहरामा खसेको पहिरो हटाएपछि एकतर्फी सूचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

सोमबार साँझ करिब ८ः३० बजे पहिरो खस्दा राजमार्ग दुवै तर्फी नै बन्द भएकोमा मङ्गलबार बिहानबाट एकतर्फी सूचारु भएको उहाँले बताउनुभयो । थापाले भन्नुभयो, ‘‘सडकको बिच भागमा ठूलो ढुङ्गाहरु खसेकाले अवरोध भएको थियो, यात्रुहरुलाई समस्या नपरोस् भनेर पहिरो पन्छाउने काम तीव्र पारी अवरोध हटाएका छौं ।’’ पृथ्वीराजमार्ग विस्तारको काम गरिरहेको मुग्लिन–पोखराको पूर्वी खण्डले डोजर प्रयोग गरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।

सो ठाउँमा चार लेनको सडक निर्माण भइसकेकोले दुई लेन बन्द भएपनि दुई लेन सूचार भएको प्रनाउ थापाले जानकारी दिनुभयो । भित्तो तर्फको अवरोध भएको र मर्स्याङ्दी नदी किनारा साइडको सूचारु भएको थापाले बताउनुभयो । अवरोध हटेपछि यात्रु आ–आफ्नो गन्तव्यमा लागेका छन् ।