• १४ साउन २०८२, बुधबार

अनलाइन व्यापारमा ठगी नियन्त्रण गर्न सूचीकरण

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन १३ गते । काठमाडौँ कलङ्की बस्ने विन्दु अधिकारीले एक महिनाअघि भेराइटी क्लोथ नामको पेजबाट साउनका लागि एक जोर कुर्तासुरुवाल सेट मगाउनुभयो । उहाँलाई मन परेको उक्त सेटको मूल्य ९९९ रुपियाँ थियो । अग्रिम भुक्तानी गरेपछि मात्रै सामान डेलिभरी हुने बताएपछि विन्दुले पैसा तिर्नुभयो । पैसा तिरेपछि तीन दिनभित्र डेलिभरी हुने प्रतिबद्धता सो पेज सञ्चालकको थियो तर सामान मगाएको एक महिनामा पनि सामान नआएको उहाँको गुनासो छ । अहिले सो पेजबाट कुनै पनि जवाफ आउँदैन । सामान दुई दिनमा आउँछ भन्ने व्यक्ति सम्पर्कविहीन छन् । 

विन्दुले यसअघि पनि अनलाइनबाट सामान मगाइरहनुहुन्थ्यो । “यसअघि पनि धेरै वटा अनलाइनबाट सामान मगाएकी थिएँ । यस्तो ठगीमा पहिलो पटक परेँ,” उहाँले भन्नुभयो । यस्तो ठगीबारे कहाँ र कसरी उजुरी गर्ने भन्ने पनि जानकारी नभएकाले उहाँ चुप लागेर बस्नुभएको छ । 

अनलाइन सामान खरिद गर्दा गुणस्तरमा ठगिने उहाँ जस्ता धेरै छन् । अनलाइन ठगीका प्रकृति पनि फरक छन् । रञ्जिता कार्कीको अनुभवमा अनलाइनबाट सामान मगाउँदा आफूले हेरेकोभन्दा गुणस्तरमा असाध्यै कमसल हुने गर्छ । 

उहाँले पेजबाट देखाए जस्तो कहिल्यै नहुने भएकाले अचेल जतिसुकै सस्तो भए पनि अनलाइनबाट सामान मगाउन छोडिसकेको बताउनुभयो । अनलाइन व्यापारबाट ठगिएका गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई कमर्स) ऐन, २०८१ बमोजिम अनलाइन व्यापार दर्ता सुरु गरेको छ । विभागका अनुसार विभागमा अनलाइन व्यापारका नाममा हुने ठगीमा भने जस्तो सामान नपाइने, पैसा दिइसकेपछि फरार हुने, भनेको ठाउँमा पसल नभेटिने, धेरै मूल्य लिएर सस्तो मूल्यको कमसल सामान बिक्री गर्नेलगायतका गुनासो आउने गरेका छन् ।

विभागका निर्देशक भरतप्रसाद आचार्यले अनलाइन व्यापारबाट हुने ठगीलाई नियन्त्रण गर्ने गरी अनलाइन व्यापार सूचीकृत गर्न सुरु गरेको जानकारी दिनुभयो । अनलाइनमा व्यापार गर्ने जोकोहीलाई आआफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेर विभागमा सूचीकृत हुनका लागि सूचना गरेको तर सूचीकृत हुनेको सङ्ख्या असाध्यै कम रहेको उहाँको भनाइ छ । विभागका अनुसार ३५्र० वटा अनलाइन फर्मको आवेदन परेकामा सबै प्रव्रिmया पूरा गरेका ३६ वटाले मात्रै अनलाइन व्यापार गर्ने स्वीकृति पाएका छन् । सूचीकृत भएकामा धेरै जसो कस्मेटिक, फेन्सी र ग्रोसरी आइटमका छन् ।