विष्णुप्रसाद पोखरेल
दमक, साउन १३ गते । झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन ।
सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ ।
एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको रहेको छ । अहिले यहाँ भौतिक संरचनाबाहेक नयाँ सेवा सुविधा थप भएको छैन । ७२ मिटर उचाइको कङ्क्रिट संरचना र २८ मिटर उचाइको मेटल फ्रेम रहेको यो कम्प्लेक्स धरहराभन्दा अग्लो छ ।
केही दिनअघि गृहनगर दमक आएका प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको व्यापारिक कम्प्लेक्सलाई फोटो खिच्ने भ्यु टावर भनेर अपव्याख्या भएको बताउनुभएको थियो । यसलाई विकासको नमुनाका रूपमा सञ्चालन गरिने उहाँको भनाइ थियो ।
कम्प्लेक्सको भुइँ तलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थल छ । भ्यु टावरमा व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैङ्क तथा वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज रहने बताइए पनि अहिले केही पनि सञ्चालनमा छैन ।
एक अर्ब ५६ करोड १४ लाख रुपियाँ लागतमा बनेको बिजनेस कम्प्लेक्सको उपयोगिता र प्रयोगका विषयमा बहस चल्दै आएको छ । स्थानीयले पाँच बिघा जमिन निःशुल्क रूपमा दमक नगरपालिकालाई उपलब्ध गराएर पार्कसहितको कप्लेक्स निर्माण सम्पन्न भएपछि यसको सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्योल सिर्जना भएको हो ।
बल्झियो जग्गा विवाद
व्यावसायिक कम्प्लेक्स सर्वसाधारणका लागि खुला भए पनि जग्गा विवाद बल्झिएको छ । पञ्चकन्या हाउजिङ कम्पनीले यो कम्प्लेक्स बनाउँदा जग्गा कम भएको भनेर नगरपालिकाले स्थानीयबाट समेत जुटाएर दिने जनाएको थियो तर अहिले उक्त जग्गा नपाएको बताएपछि विवाद सिर्जना भएको हो ।
दमक–३ का वडाध्यक्ष नवीन बरालले नगरपालिकाले जग्गा उपलब्ध गराउने भनेर सहमति नगरेको बताउनुभयो । स्थानीयले नै जुटाएर कम्पनीले तत्काल उपलब्ध गराएको जग्गा बराबरको जग्गा दिने बताएर सामूहिक हस्ताक्षर गर्दा आफूहरू साक्षी बसेको उहाँले जानकारी दिनुभयो ।
भ्यु टावर आसपासमा जग्गा विकास (ल्यान्ड पुलिङ) गर्ने योजना रहेको र त्यसै अनुसार जग्गाको सट्टाभर्नाको सहमति भएको पञ्चकन्या हाउजिङ कम्पनीका सञ्चालक रूपक दहालले बताउनुभयो । तत्कालीन अवस्थामा तीन बिघा जग्गा आफूहरूले उपलब्ध गराएको तर प्रधानमन्त्री ओलीले पाँच बिघा जग्गा चाहिन्छ भनेपछि जुटाएको उहाँले बताउनुभयो । जग्गा विकास कार्यान्वयन भएपछि स्थानीयले दिने भनेको जग्गा विकासको काम नभएकाले जग्गा नपाएको उहाँको भनाइ छ ।