• १२ साउन २०८२, सोमबार

बागलुङमा ९५ प्रतिशत रोपाइँ

blog

जैमिनी नगरपालिकामा धान रोप्दै स्थानीयहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन १२ गते ।
बागलुङमा हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले आइतबारसम्म बागलुङमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो ।

बागलुङमा जेठ महिनादेखि रोपाइँ सुरुवात भएको र सुरुवाती समयमा प्रयाप्त वर्षा भएकाले हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । उहाँले बागलुङ जिल्लामा रहेको धान खेती हुने पाँच हजार सात सय सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार चार सय २२ हेक्टर क्षेत्रफलमा अर्थात् ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

बागलुङमा चाडो रोपाइँ सुरु हुने गरेकोले धेरै क्षेत्रफलमा रोपाइ सम्पन्न भएको प्रमुख सिलवालको भनाइ छ । ‘‘अहिले खडेरी लागेपनि वर्खायामको सुरुवातमा वर्षा भयो,’’ उहाँले भन्नुभयो, ‘‘बागलुङमा चाडो रोपाइँ सुरु हुने गर्छ । निसीखोला, ढोरपाटन, जैमिनी, गलकोट लगायतका स्थानमा जेठ महिनामै रोपाइँ सुरु भइसकेको थियो । त्यसकारण साउनको दोस्रो हप्तामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।’’

बागलुङमा ९८ प्रतिशत रोपाइँ हुने विश्वास रहेको प्रमुख सिलवालको भनाइ छ । उहाँले पाखापखेरामा रोपाइँ बाँकी रहेको र केही समयमा उक्त स्थानमा रोपाइँ हुने बताउनुभयो । बागलुङमा आकाशे पानी र सिँचाइ भएका कुलो नहरको पानीले खेतमा रोपाइँ सम्पन्न भएको हो ।

किसानहरूले बागलुङमा साउन महिनाको अन्तिमसम्म रोपाइँ गर्ने भएकाले आगामी दिनमा रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुने आफुहरूले विश्वास लिएको कार्यालय प्रमुख सिलवालको भनाइ छ ।