• ११ साउन २०८२, आइतबार

झापामा एक सय ७० जनाले त्यागे नागरिकता

blog

लीलाराज खड्का 

बिर्तामोड, साउन ११ गते । झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले  नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०-०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१-८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले  नागरिकता परित्याग गरी गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।  

 गैर आवासीय नागरिकता लिनका लागि नेपाली नागरिकता परित्याग गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी मान्यता रहेकाले नेपालीहरूले बर्सेनि नागरिकता परित्याग गर्दै आइरहेका छन् ।  

यसै गरी गत आर्थिक वर्ष  २०८१/०८२ मा कार्यालयबाट वंशज २२ हजार ४० र वैवाहिक अङ्गीकृत छ सय ७५ गरी २२ हजार ७ सय १५ वटा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताउनुभयो  ।

१ वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रसाईँले बताउनुभयो । १ वर्षको अवधिमा २२ हजार ४ सय ३२ वटा राहदानी वितरण गरिएको र सात सय ८९ वटा नाबालक परिचयपत्र  समेत वितरण गरिएको छ । 

१ वर्षमा जिल्ला प्रशासनबाट संस्था दर्ता ७८, संस्था नवीकरण सात सय २१, जातीय प्रमाणित ५ सय २९ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन गरेको जनाएको  छ । कार्यालयले हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचय पत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताउनुभयो ।

कार्यालयले प्रकोप पीडित १९ जना (पाँच जना मृतकसहित) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १ सय ९ वटा हतियार नवीकरण गरेको छ । अभद्र व्यवहार सम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाह सम्बन्धी एक वटा मुद्दा फर्स्यौट गरिएको कार्यालयले जनाएको छ । कार्यालयले सोही अवधिमा ११ करोड २१ लाख २८ हजार दुई सय २६ राजश्व सङ्कलन समेत गरेको छ ।