• ८ पुस २०८१, सोमबार

डलर महँगिदा थपियो विदेशी ऋण भार

blog

काठमाडौँ, असार ७ गते । अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ–चैत)मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो । 

सो कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्र नेपालले एक अर्ब २२ करोड १८ लाख डलर बाह्य ऋण लिएको छ । समीक्षा अवधिमा माघ १ गतेको अमेरिकी डलरको भाउ चैत ३० गतेसम्म पुग्दा प्रतिडलर तीन रुपियाँ १७ पैसाले बढेको छ । माघ १ गते एक डलरको विनिमय दर ११८ रुपियाँ ९५ पैसा रहेकामा चैत ३० गते १२२ रुपियाँ १२ पैसा पुगेको छ । 

कार्यालयका अनुसार पुस मसान्तमा नेपालले १२ अर्ब २१ करोड रुपियाँ बाह्य ऋण लिएकामा १९ अर्ब ३७ करोड रुपियाँको विनिमय घाटासमेत बेहोरेर ३१ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । त्यसमा नेपालले चार अर्ब १२ करोड रुपियाँ ऋण भुक्तानी गरेकाले समीक्षा अवधिको खुद ऋण २७ अर्ब ४६ करोड रुपियाँ पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ । 

डलरको भाउ घटबढ भइरहने हुनाले यस्तो घाटा पनि तलमाथि भइरहने कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । “यो वास्तविक घाटा नभए पनि विनिमय दरमा हुने घटबढले हाम्रो ऋण भुक्तानीमा कस्तो असर पर्छ भन्ने विश्लेषण हो,” उहाँले भन्नुभयो ।  

छोटो समयमै अमेरिकी डलरको नेपाली रुपियाँसँगको विनिमय दर धेरै बढ्दा बाह्य ऋण भुक्तानीमा नेपालले थप दायित्व बेहोर्नुपर्ने अवस्था सिर्जना भएको हो । चैतपछि पनि अमेरिकी डलरको विनिमय दर बढेर १२५ रुपियाँसम्म पुगेकाले बाह्य ऋण भुक्तानीको भार झन् बढ्ने देखिन्छ । 

तीन महिनामै सवा खर्ब ऋण बढ्यो

बजेटको महŒवपूर्ण स्रोतकै रूपमा रहेको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्रै नेपालको सार्वजनिक ऋण एक खर्ब २६ अर्ब रुपियाँले बढेको छ । 

पुस मसान्तसम्म १७ खर्ब २८ अर्ब ९३ करोड रुपियाँ ऋण रहेकामा चैत मसान्तसम्म पुग्दा ७.३३ प्रतिशतले बढेर नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५५ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ३८.२५ प्रतिशत हुन आउँछ । यद्यपि दोस्रो त्रैमासिक (कात्तिक–पुस)को तुलनामा जीडीपीमा ऋणको हिस्सा भने घटेको देखिन्छ । दोस्रो त्रैमासिकसम्म नेपालको जीडीपीको तुलनामा सार्वजनिक ऋणको हिस्सा ४०.५३ प्रतिशत थियो । 

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा बढी छ । कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालको कुल बाह्य ऋण नौ खर्ब ७६ अर्ब ४५ करोड रुपियाँ रहेको छ । पुस मसान्तको तुलनामा यो २.८९ प्रतिशतले बढी हो । पुस मसान्तसम्म नेपालले नौ खर्ब ४८ अर्ब ९८ करोड रुपियाँ बाह्य ऋण लिएको थियो । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल बाह्य ऋण २०.१३ प्रतिशत हुन आउँछ । तेस्रो त्रैमासमा नेपालले बाह्य ऋणबापत चार अर्ब १२ करोड रुपियाँ ऋण तिरेको छ । 

त्यस्तै चालू आर्थिक वर्षको चैत मसान्तमा नेपालले आन्तरिक रूपमा आठ खर्ब ७९ अर्ब १५ करोड रुपियाँ ऋण लिएको छ । यो पुस मसान्तको तुलनामा १२.७२ प्रतिशतले बढी हो । त्यतिबेला नेपालले सात खर्ब ७९ अर्ब ९४ करोड रुपियाँ आन्तरिक ऋण लिएको थियो । यस हिसाबले नेपालले माघदेखि चैत मसान्तभित्र करिब एक खर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । कुल आन्तरिक ऋण जीडीपीको १८.१२ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार तेस्रो त्रैमासमा नेपालले २५ करोड रुपियाँ आन्तरिक ऋण तिरेको छ ।