इस्तानबुल, साउन ९ गते । सन् २०१५ को सम्झौताअन्तर्गत तीन युरोपेली शक्ति राष्ट्रले प्रतिबन्ध पुनः सक्रिय गर्ने (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्नसक्ने चेतावनीका बिच इरानी कूटनीतिज्ञहरूले शुक्रबार जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग नयाँ आणविक वार्ताका लागि भेटवार्ता गर्ने भएका छन् ।
स्न्यापब्याक संयन्त्रले इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ । इजरायलले इरानमाथि गत जुनको मध्यमा गरेको आक्रमणपछि इस्तानबुलमा हुन लागेको इरानको यो पहिलो बैठक हो । इजरायली आक्रमणका कारण इजरायल-इरानबिच १२ दिनसम्म युद्ध भएको थियो । जसमा इजरायलले यरानका प्रमुख आणविक तथा सैन्य स्थलहरूलाई निशाना बनाएको थियो ।
इजरायलको आक्रमणले शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य सयौँको ज्यान लिएको थियो भने आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो र यसले अप्रिलमा सुरु भएको अमेरिका-इरान आणविक वार्तालाई पनि बिथोलेको थियो । त्यसयता युरोपेली शक्तिहरूले सन् २०१५ को आणविक सम्झौताअन्तर्गत अगष्टको अन्त्यसम्ममा इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धलाई पुनःस्थापित गर्ने ‘प्रतिबन्ध पुनः प्रयोग गर्ने संयन्त्र’ सुरु गर्ने चेतावनी दिँदै आएका छन् ।
प्रतिवन्ध पुनः प्रयोग गर्ने संयन्त्र’ सुरु गर्ने विकल्प अक्टोबरमा समाप्त हुन्छ । तेहरानले इ-थ्रीले यसलाई सक्रिय गर्ने विकल्पमा गएमा त्यसबाट आइपर्ने परिणामहरूको जिम्मेवारी इयूले लिनुपर्ने चेतावनी दिएको छ । “ई-थ्रीद्वारा निष्क्रियता एक विकल्प होइन”, एक युरोपेली स्रोतले भनेको छ, “बैठकको क्रममा तेहरानलाई प्रतिबन्ध पुनः प्रयोग गर्ने संयन्त्र शरद्याममा बन्द हुने जानकारी गराइनेछ ।”
स्रोतका अनुसार युरोपेलीहरूले ‘वार्ताबाट समाधानको अभावमा’ संयन्त्रलाई लागू गर्ने तयारी गरिरहेका छन् र इरानलाई युरेनियम संवर्धन र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग सहयोग पुनः सुरु गर्ने सम्बन्धमा ‘स्पष्ट सङ्केत’ गर्न आह्वान गरेका छन् ।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादी र वरिष्ठ इरानी कूटनीतिज्ञ माजिद तख्त-रावन्चीले यसै साता प्रतिबन्ध लगाउनु ‘पूर्णतया गैरकानुनी’ भएको चेतावनी दिएका थिए । उनीहरूले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिका एकतर्फी रुपमा पछि हटेपछि युरोपेली शक्तिहरुले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता रोकेको आरोप पनि लगाए । “हामीले उनीहरूलाई जोखिमबारे सचेत गराएका छौँ, तर हामी अझै पनि स्थिति व्यवस्थापनका लागि साझा आधार खोजिरहेका छौँ,’ घारीबादीले भने ।
-प्रतिबन्ध-
इरानी कूटनीतिज्ञहरूले यसअघि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू गरिएमा तेहरान आणविक अप्रसार सन्धिबाट पछि हट्न सक्ने चेतावनी दिँदै आएका थिए । प्रतिबन्धहरू पुनस्र्थापित गर्दा इरानको अन्तर्राष्ट्रिय अलगाव अझ गहिरो हुनेछ र पहिलेदेखि नै तनावमा रहेको इरानको अर्थव्यवस्थामा थप दबाब पर्नेछ ।
इजरायली विदेशमन्त्री गिदोन सारले युरोपेली शक्तिराष्ट्रहरूलाई यो संयन्त्रलाई गति दिन आग्रह गर्नुभएको छ । तेहरान र वासिङ्टनबिच छैटौं चरणको आणविक वार्ता हुनुभन्दा दुई दिनअघि जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेको थियो । गत जुन २२ मा अमेरिकाले फोर्डो, इस्फाहान र नातान्जमा रहेको इरानी आणविक केन्द्रमा आक्रमण गरेको थियो ।
युद्धअघि, वासिङ्टन र तेहरान युरेनियम संवद्र्धनको विषयमा विभाजित थिए, जसलाई इरानले ‘गैर-सम्झौतायोग्य’ अधिकारको रूपमा वर्णन गरेको छ, जबकि संयुक्त राज्य अमेरिकाले यसलाई ‘मुख्य शर्त’ भनेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशत शुद्धतामा संवद्र्धित गरिरहेको छ, जुन सन् २०१५ को सम्झौता अन्तर्गत ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि छ ।
तेहरानले युरेनियम संवद्र्धनको दर र स्तरबारे छलफल गर्न आफू तयार रहेको तर युरेनियम संवद्र्धन गर्ने अधिकारबारे छलफल गर्न तयार नरहेको बताएको छ । आणविक सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले आफ्नो प्रतिबद्धता फिर्ता लिन थाल्यो । सम्झौताले प्रतिबन्ध राहतको बदलामा आफ्नो आणविक गतिविधिमा प्रतिबन्ध सहेको थियो । इजरायल र पश्चिमा शक्तिहरूले इरानले आणविक अस्त्रको पछि लागेको आरोप लगाउँदै आएका छन् ।
-‘राष्ट्रिय गौरव’-
इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक कार्यक्रमलाई ‘राष्ट्रिय गौरवको स्रोत’ भन्नुभएको छ । “विशेष गरी हालैको युद्धपछि, उनीहरूले यो बुझ्नु महत्त्वपूर्ण छ कि इस्लामिक रिपब्लिक अफ इरानको स्थिति अस्थिर छ, र हाम्रो युरेनियम संवद्र्धन जारी रहनेछ । हामी इरानी जनताको यो अधिकार त्याग्ने छैनौँ,” इस्तानबुल वार्ताको पूर्वसन्ध्यामा अराघचीले भन्नुभयो ।
अमेरिकी हवाइ आक्रमणबाट इरानी युरेनियम भण्डारण केन्द्रहरूमा बम विष्फोटमा कति क्षति भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन । ट्रम्पले ती स्थलहरू ‘पूर्णरूपमा नष्ट’ भएको दाबी गर्नुभएको छ । अमेरिकी सञ्चार माध्यमहरूले विनाशको मात्रामाथि शङ्का व्यक्त गरेका छन् । अमेरिका र इजरायलको आक्रमणका कारण आणविक स्थलमा ‘व्यापक र गम्भीर’ क्षति पुगेका कारण अहिले संवद्र्धन बन्द भएको अराघचीले उल्लेख गर्नुभएको छ ।
इरानले आइएइएसँगको सहकार्यलाई पूर्वाग्रही भन्दै १२ दिनसम्म चलेको आक्रमणको निन्दा गर्न असफल भएको आरोप लगाएको छ । त्यसपछि निरीक्षकहरूले देश छोडेका छन्, तर इरानले भविष्यमा सहयोगले ‘नयाँ रूप’ लिने बताएपछि आगामी हप्ताहरूमा एक प्राविधिक टोली फर्कने अपेक्षा गरिएको छ ।
यदि इरानले सुविधाहरू पुनर्निर्माण गरेमा वा हतियार क्षमतातर्फ अघि बढेमा उसले फेरि आक्रमण गर्न सक्ने चेतावनी इजरायलले दिएको छ । इरानले भविष्यमा हुने कुनै पनि आक्रमणको कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएको छ । रासस/एएफपी