• १० साउन २०८२, शनिबार

दाङमा काठ उत्पादन वृद्धि

blog

घोराही समाचारदाता 

घोराही, साउन १० गते । दाङ जिल्लामा काठ उत्पादनमा वृद्धि भएको छ । डिभिजन वन कार्यालय घोराही दाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ६१ हजार क्युफिट काठ उत्पादनमा वृद्धि भएको हो । आव २०८१/८२ मा दुई लाख ६३ हजार ४५१.५५ क्युफिट काठ उत्पादन भएको छ । सामुदायिक, राष्ट्रिय र निजी वनबाट दुई लाख ३० हजार १७७.३१ क्युफिट काठ उत्पादन हुने लक्ष्य गरिए पनि लक्ष्यभन्दा बढी दुई लाख ६३ हजार ४५१.५५ क्युफिट काठ उत्पादन भएको हो । 

आव २०८०/८१ मा दुई लाख दुई हजार ४१४ क्युफिट काठ उत्पादन भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार ९९ वटा सामुदायिक वनबाट एक लाख ९९ हजार ९६८.५८ क्युफिट उत्पादन भएको छ । राष्ट्रिय वन (चक्ला) बाट चार हजार १९८.२६ क्युफिट र निजी वनबाट ५९ हजार २८४.९१ क्युफिट काठ गरेर दुई लाख ६३ हजार ४५१.५५ क्युफिट काठ उत्पादन भएको छ । 

डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले उत्पादन भएकोमध्ये ४७ हजार ७४८.४१ क्युफिट काठ समूहभित्र आन्तरिक खपत, २९ हजार ८१३.८५ क्युफिट काठ समूहबाहिर बिक्री भएको र एक लाख २२ हजार ६३०.५० क्युफिट काठ बिक्री नभएर वन समूहले घाटगढी गरेर राखेको बताउनुभयो ।