• १० साउन २०८२, शनिबार

राजमार्गको खम्बागाडे खण्डमा रुख कटानको अनुमति

blog

वन तथा भूसंरक्षण विभाग र पूर्वाधार विकास निर्देशनालयबिच भएको रुख कटानको सम्झौता । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, साउन १० गते । पश्चिम सुर्खेतमा निर्माण भइरहेको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे खण्डमा रुख कटानको अनुमति प्राप्त भएको छ । यो अनुमतिले बर्सौंदेखि अल्झिएको निर्माण कार्यले गति लिने आशा जगाएको छ । 

२०८१ चैत २६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार वराह ताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने १०.३९९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका ८६४ वटा रुख हटाउन स्वीकृति मिलेको छ । 

यो स्वीकृति कार्यान्वयनका लागि वन तथा भूसंरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले अबको १० दिनभित्रै रुख कटानको प्रक्रिया थालिने बताउनुभयो । उहाँका अनुसार आयोजनामा सबैभन्दा जटिल मानिएको जग्गा प्राप्ति र रुख कटान जस्ता व्यवधान हटेकाले अब निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमै निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आधा मात्रै काम भएको सडकले नागरिकलाई थप सास्ती दिएको हो । 

हालसम्म सो सडकखण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटर सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपियाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो । 

निर्माण कम्पनीले रुख कटान र जग्गा प्राप्तिको विषयलाई ढिलाइको प्रमुख कारण देखाउँदै आएको थियो । प्रदेश सरकारले आयोजनाको म्याद २०८२ असार १२ सम्म थप गरे पनि काम अघि बढ्न नसकेपछि पुनः ०८३ असारसम्मका लागि समय सीमा बढाइएको छ ।