भवानीदत्त भट्ट
कञ्चनपुर, साउन १० गते । कञ्चनपुरको बेलौरी नगरपालिकामा विपदमैत्री संरचना निर्माण गरिएको छ । विपदसम्बन्धी गतिविधि सञ्चालनका लागि पालिकाले छुट्टै विपद् मैत्री संरचना निर्माण गरिएको जनाएको हो ।
पालिकाको विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेका अनुसार नौ लाखको लागतमा स्थानीय आपतकालीन केन्द्र र ६ लाखको लागतमा विपद् गोदाम घर निर्माण गरिएको छ । गोदाम घर निर्माण कार्य अन्तिम चरणमा पुगेको विपद् सम्पर्क व्यक्ति पाण्डेले बताउनुभयो ।
विपदमा पर्ने प्रभावित परिवारलाई आवश्यक पर्ने राहत सामग्रीहरू विपद् गोदाम घरमा राखिने उहाँले बताउनुभयो । आपतकालस्न पूर्व तयारीका लागि सामानहरूलाई सम्बन्धित स्थानमा परिचालन गर्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
पालिकामा यसअघि भवन अभावले विपद् सामग्रीहरू व्यवस्थापन र परिचालनमा समस्या रहँदै आएको बताइएको छ । विपद् मैत्री संरचना निर्माण गरिएसँगै स्थानीय आपतकालीन केन्दमा विपद जन्य गतिविधि, बैठक, तालिमलगायतका कार्यक्रम सञ्चालनमा सहजता हुने उहाँले बताउनुभयो ।
वैशाख महिनादेखि निर्माण थालिएकोमा असार मसान्त भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । भवनको छिट्टै उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।