• १० साउन २०८२, शनिबार

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

blog

पश्चिम नवलपरासी समाचारदाता 

पश्चिम नवलपरासी, साउन १० गते । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । उखरमाउलो गर्मीमा लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताले सेवाग्राहीलाई समस्या हुने गरेको छ । प्रतापपुर एक जमुनियाकी फूलकुमारी चौधरी राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन दुई दिन धाउनुपर्‍यो । 

लेखापढी व्यवसायीलाई पैसा तिरेर फाराम भरी बिहान १० बजे लाइनमा लाग्नुभएकी चौधरीले दिउँसो ३ बजेसम्म कुर्दा पनि परिचयपत्रका लागि चाहिने फोटो खिच्ने पालो पाउन नसकेको गुनासो गर्नुभयो । अन्तिममा सर्भरमा समस्या आएको भन्दै चौधरी फर्किनुभयो । फेरि भोलिपल्ट दिनभर लाइनमा बसेपछि बल्ल परिचयपत्र बनाउने पालो आफूले पाएको उहाँले बताउनुभयो । 

चौधरी मात्र होइन, चर्को घाममा लामो लाइन लागेर घन्टौँ कुरेर राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता धेरै सेवाग्राहीलाई छ । कहिले सर्भरले काम नगर्ने त कहिले धरै भिड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राहीले सास्ती बेहोर्न बाध्य छन् । 

पाल्हीनन्दनका स्थानीय दामोदर गुप्ताले चर्को घाममा लामो समय लाइन लाग्नु पर्दा अत्यन्तै दुःख भएको बताउँदै टोकन प्रणाली बनाएर सहज रूपमा व्यवस्थापन गर्न माग गर्नुभयो । 

रामग्राम कुनुवारका अनिल हरिजनले एक छिन पनि घाममा उभिन नसकिने अवस्थामा लामो समय लाइनमा बस्नु पर्दा समस्या भएको बताउनुभयो । हरिजनले भन्नुभयो, “यति चर्को घाम छ, बुढाबुढी, बालबच्चा बोकेका महिला सबै लाइनमा बस्नुपर्छ । लाइन नबसे फेरि पालो मिचिने चिन्ता हुन्छ ।” दैनिक १५० जनासम्म सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले काम छिटो सम्पन्न गर्न छ जना कम्प्युटर अपरेटर व्यवस्था गरिएको र आवश्यक परे अन्य शाखाका कर्मचारीसमेत परिचालन गरेर काम भइरहेको बताउनुभयो । 

भण्डारीले भन्नुभयो, “भिड बढेको छ, अहिले फुर्सदको समय पनि भएकाले होला, हामी सकेसम्म छिटो काम सक्ने प्रयत्न गरेर पहिले उपस्थितिका आधारमा सेवा दिइरहेका छौँ ।” भण्डारीले केही महिनाभित्र सबै सेवामा टोकन प्रणाली लागु गर्ने योजना बनाइएको पनि जानकारी दिनुभयो ।