• ८ मंसिर २०८१, शनिबार
blog

सामान्य चेतनामा रहेर साधारण जीवन यापन गर्नेदेखि उच्चतम अवस्था अर्थात् ब्रह्मसद्भाव (ब्रह्मज्ञान) सम्मको ल्याकत राख्ने जो कोहीको पनि योग सारथि हो । आमजीवनका लागि अनुशासन, स्वास्थ्य रक्षादेखि अनादि, नित्य र शाश्वततर्फ मार्गदर्शन गर्ने योग विषयको बारेमा युगांैदेखि वर्तमानसम्म मान्छेको चेतनाको स्थिति अनुसार विश्वव्यापी रूपमा ध्यानाकर्षण भइरहेको छ ।

यसलाई मान्छेले आ–आफ्नो ज्ञान, चेतना र बुझाइ अनुसार साधनाभ्यास एवं अनुसरण गर्दै आएको छ । योगसाधनामा खरो उत्रेका ऋषिमहर्षिहरूले ब्रह्माण्डीय परमचेतना प्राप्त गरी मानव सभ्यताको प्रकाष्ठाको शिखरमा उभिन सफल भएका थिए र छन् । जुन दृष्टान्तहरूले आजको विश्वसमाजलाई पनि व्यक्ति, देशकाल परिस्थिति अनुसार उत्प्रेरणा, जिज्ञासा, उद्बोधन र स्वबोधको मार्ग देखाइरहेका छन् ।   

नेपाल भूमिसँग पूर्वीय वाङ्मयका प्राच्य पौरुष्यदर्शनको विशेष सम्बन्ध छ, जुन कुरालाई विश्वले स्वीकार गर्छ । वेदभूमि, ज्ञानभूमि, देवभूमि, तपोभूमि, योगभूमि, साधनाभूमि, शान्तिभूमि, बुद्धभूमि जस्ता विशेषता पाएको यो भूखण्ड भौगोलिकताका आधारमा पनि विश्वको शिर हो । ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ को सिद्धान्त अनुसार पनि यो मुलुक विश्वको मस्तिष्क हो र मस्तिष्कको भूमिका दिन सक्षम पात्रलाई यो भूमिले जन्म दिँदै आएकी पनि छन् ।

बाहिर जन्मेका तपस्वीहरूले पनि यो भूमिलाई आफ्नो साधनाको थलो बनाए । भलै वर्तमान समयको गोचरमा यो भूमि भौतिक उन्नतिमा पछि परिरहेको विश्वव्यापी आकलन छ, तथापि चेतनात्मक उन्नतिमा यो भूमि अहिले पनि त्यत्तिकै उर्बर छ जति पहिला थियो । प्रकृतिक–भौगोलिक प्रदत्त उन्नतिमा यहाँ कहिल्यै पनि ह्रास आउने लक्षण छ्रन् ।  

योग र नेपालको अन्तरसम्बन्धका विविध पक्षका बारेमा चिन्तन, मनन, अध्ययन गरी यो भूमि योगभूमि हो भन्ने विषयमा दृढतापूर्वक यहीँबाट चालीस वर्षभन्दा अघिदेखि नै विश्वयोग दिवस एवम् योगसंवत्को अभियान सञ्चालन भइसकेको इतिहास पनि छ । कुनै समयमा योग विद्या एवं योगलाई हेर्ने दृष्टि फरक थियो । योगीलाई जोगी भन्ने र ह्यायको दृष्टिले हेर्ने चलन थियो । वर्तमानमा त्यो दृष्टिकोण बदलिएको छ तैपनि प्रायः मान्छेले योगलाई भौतिकरूपमा मात्रै बुझेको छ ।

शारीरिक व्यायामको रूपमा मात्रै योगलाई सम्झेको छ । योगविज्ञानीहरूले सोभन्दा माथिबाट योगदर्शनको अध्ययन गरेका त छन् तर हकहितमा अध्ययन अनुरूपको प्रयोग र अभ्यास नभएको पनि हुनसक्छ । शरीर योग पनि योग हो, तर शरीर, मन, बुद्धि, चित्त, अहङ्कारभन्दा माथि उठेर आफूलाई ब्रह्म घोषणा गर्ने मार्ग पनि योगमा प्रसस्त गरिएको भुल्न हुन्न । मात्र आसन विधि पूर्णयोग होइन । यसमा यम, नियम, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिसम्मको ज्ञानविज्ञान समाहित भएको र यी सबै अङ्गको अध्ययन, अनुसन्धान, अभ्यासलाई महत्त्व दिनुपर्छ भन्ने बुझाइ हुन जरुरी छ । 

 समाजमा हत्या, हिंसा, आतङ्क, बलात्कार लुट ठगीजस्ता अमानवीय गतिविधि बढिरहेका छन् । मान्छेले मान्छेको विश्वास गर्न नसकिने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थाले मान्छेको चेतनलाई गिज्याइरहेको हुन्छ कि त मानव होस् वा दानव ? भनेर । योगको सिलसिलाबद्ध अध्ययन अध्यापन, अनुशरण र अभ्यास नहुँदा मानव समाज दानव समाजमा परिणत भएको छ । विश्वव्यापी रूपमा मानवीयता लुप्त हुँदैछ । विश्वव्यापी रूपमा मानवीयता हराउनुको समाधान खोज्ने हो भने योगलाई अनुशरण गर्न अनिवार्य छ । 

जब योगको सर्वाङ्गीण रूपमा महत्त्वका साथमा मान्छेहरूले अध्ययन, अभ्यास गर्छन् अनि मान्छेमा मानवीय चरित्रको निर्माण हुन्छ । मान्छे क्रमशः मानव बन्दै जान्छ । योगका सबै अङ्गहरूको शिक्षण एवं व्यवहारले मात्रै योगले दिन खोजेको लक्ष्य तथा उपलब्धिको प्राप्ति हुन्छ । अनि बल्ल योगले सबैलाई समेट्छ । योग सपाङ्गले मात्रै नभएर अपाङ्गले पनि गर्न सक्छन् । 

नेपाल देवभूमि हो, कोटीकोटी देवदेवीहरूको क्रीडास्थल हो, यो वेद भूमि हो, योग भूमि हो, साधना भूमि हो । यस्ता विशेषता यो भूमिसँग धेरै छन् । चाहे प्राचीनकालमा होस्, चाहे आधुनिक समयमा यही भूमिमा विश्वका तपस्वीहरूले तप गरेर विभिन्न खालको अलौकिक सिद्धिहरू प्राप्त गरेका प्रमाणित उदाहरण छन् । भगवान शिवले सृष्टिको बिहानी ल्याएको भूमि हो नेपाल । माँ पार्वती, सीतालगायतका आदिशक्ति भगवतीका प्रतिमूर्तिहरूको जन्मस्थली हो नेपाल ।

साङ्ख्य दर्शनका प्रवर्तक कपिलमुनि, अठार पुराणका लेखक व्यास, गायत्रीमन्त्रद्रष्टा ऋषि विश्वामित्र, मच्छिन्द्रनाथ, हठयोगका प्रवर्तक भगवान गोरखनाथ, कौमुदि व्याकरणका प्रवर्तक पाणिनि, वाल्मीकि, भृगु, परासर, च्यवनलगायत हजारौं ऋषिमहर्षिहरूको साधनाको तपस्थली हो नेपाल । अष्टाङ्ग योगका प्रणेता महर्षि पतञ्जलिको पनि जन्मभूमि नेपाल हो भन्ने विद्वानहरूको मत रहेको पाइन्छ । 

शैवधाराका सिद्ध तथा नाथसम्प्रदायीको प्रयोगमा रहेको हठयोगलाई कुनै समयमा बुद्धिष्टहरूले पनि अपनाएको प्रसङ्ग पढ्न पाइने गर्छ । देवदेवी तथा प्राचीन ऋषिमहर्षिले प्रतिपादन गरेका योग साधनाका विधि र अन्य ज्ञानविज्ञानको संरक्षणको जिम्मेवारी नेपालले पूरा गर्नुपर्छ । योगको प्रसङ्गसँग भगवान् बुद्धको तपस्या, निर्वाणको प्रसङ्ग, वर्तमानमा विश्वमा फैलिएको बुद्धिष्ट ध्यानलाई पनि समेट्न जरुरी हुनसक्छ । सम्बन्धित विद्वानहरूले यसको बारेमा चेष्टा दिनपर्ने देखिन्छ ।

विशेष गरी षट्कर्म, बन्ध, मुद्रा आदिलाई निर्देश गर्ने हठयोग र अष्टाङ्गयोगमा पनि सान्दर्भिकरूपमा ध्यानयोगको प्रसङ्गमा षड्चक्र भेदन एवं कुण्डलिनी जागरणको बारेमा व्यापक चर्चा पाइन्छ । यो प्रक्रिया विभिन्न पनि बताइएको छ । तन्त्रयोग अन्तर्गत पनि षड्चक्र भेदन तथा कुण्डलिनी जागरणको प्रसङ्गहरू उपदेश गरेको पाइन्छ । चाहे त्यो विशुद्ध ध्यानयोगको विधिबाट होस् चाहे त्यो तन्त्रयोगको विधिबाट होस् अधिकांश समान जस्तो पनि लाग्छ । मात्र तन्त्रयोग अन्तर्गतको विधिमा केही कर्मकाण्डी विधान तथा उपाशनालाई पनि जोडिएको पाइन्छ ।

विधि तथा साधन जे हुँदा पनि दुवै मार्गको मुख्य उद्देश्य कुण्डलीनी जागरण हो । विधिविधान तथा मार्गमा अल्मलिनु भन्दा प्राप्य के हो त्यसलाई लक्ष्य गर्नु उचित हो । कुनै पनि विधिविधान तथा पद्धतिको संरक्षण हुनुपर्छ, त्यसको वैज्ञानिकता खोजिनु र उजागर गरिनुपर्छ । योगसँग सम्बन्धित रहेर आउने यस्ता सबै विषय र पद्धतिको संरक्षण, अध्ययन, अध्यापन, सोधखोज, अनुसन्धान, अभ्यास र सदुपयोग गर्ने नीति सम्बन्धित निकाय एवं क्षेत्रले अवलम्बन गर्नुपर्छ । उपयुक्त कार्यक्रम तथा योजना बनाएर लागू गर्नुपर्छ । 

 योगशास्त्रले महर्षि पतञ्जलिलाई अष्टाध्यायी योगको साथसाथमा व्याकरण र आयुर्वेदसमेतका आधिकारिक ऋषिको रूपमा पनि चित्रण गरेका छन् । जसको जन्म नेपालको अर्घाखाँचीमा भएको हुनसक्ने विद्वानहरूको मत छ । योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य च वैद्यकेन । योऽपाकरोत्तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि । चित्तको वृत्तिलाई योगद्वारा, वाणीको अशुद्धिलाई व्याकरणद्वारा र शरीरको मललाई वैद्यकर्मद्वारा हटाउने उपदेश जसले गरेका छन् ती मुनिश्रेष्ठ पतञ्जलिलाई अञ्जुलीबद्ध भई प्रणाम गर्दछु,,  भनिएको छ ।

यो श्लोकले एउटा यस्तो मानव समाजको कल्पना गरेको छ जुन समाजमा योग, आयुर्वेद र संस्कृत व्याकरणमा पोख्त नागरिक उत्पादन हुन् । चित्तको वृत्तिमाथि विजयप्राप्त गर्ने, देवनागरिलिपी संस्कृत शब्दको शुद्ध उच्चारण गर्ने्, (संस्कृत शब्दको उच्चारण गर्दा मानव ग्रन्थी, चक्र सबै जागृत गराउने ऊर्जा प्राप्त हुन्छ) र सप्तधातुमा सञ्चित भएका शरीरलाई विकृत गर्ने विभिन्न खालका मललाई आयुर्वेदको प्रयोगले निवृत्त गराउन सकिन्छ । 

योगले मानव स्वास्थ्यसँग ठूलो सम्बन्ध राखेको छ । शारीरिक एवं मानसिक स्वास्थ्यका लागि योगबाट लिनसकिने उपलब्धि प्राप्त गर्नका लागि स्वास्थ्य निकायलगायत सम्बन्धित क्षेत्रले सम्बन्धित पाठ्यक्रममा योग शिक्षालाई समाहित गर्ने, अस्पतालमा योग थेरापीलाई संलग्न गर्ने नीति तथा योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्न सकिन्छ । योग थेरापीसँग घनिष्ठ भएर प्राकृतिक चिकित्सा पनि जोडिन आउँछ, जसले गर्दा मानव स्वास्थ्यका लागि निकै महŒवपूर्ण भूमिका निर्वाह गर्छ । मानव स्वास्थ्यमा बजेको खतराको घण्टीबाट यी दुई पद्धतिले ठूलो राहत दिनसक्नेमा विमति नहोला । 

योग शिक्षा र अभ्यासको वातावरण अब सबै नागरिकको नैसर्गिक अधिकारको विषय हुनुपर्छ । भलै कमै तथा सीमित मान्छेले त्यस्ता विशेष र सिद्धिप्रद तथा अलौकिक उपलब्धि हासिल गर्न सक्लान् जुन योगविज्ञानले मार्गदर्शन गरेको छ । विशेष सिद्धि अथवा उपलब्धि सबैले प्राप्त गर्न सक्ने पनि होइन । कमै व्यक्तिले प्राप्त गर्न सक्ने त्यस्ता सिद्धि तथा उपलब्धिबाट लोककै कल्याण हुन्छ ।

यसर्थमा योगविज्ञानको अध्ययन, अध्यापन, सोधखोज, अनुसन्धान, अभ्यास, संरक्षण र सदुपयोग गर्न अपरिहार्य र अनिवार्य छ भने स्वास्थ्यसँग सम्बन्धित रहेका आसन प्राणायामका कार्यक्रमलाई उपयुक्त तरिकाबाट अस्पताल, स्वास्थ्यकेन्द्र, सार्वजनिक स्थललगायत सम्बन्धित ठाउँहरूमा लागू गर्ने नीति र कार्यक्रम बन्नुपर्छ । नेपाल विश्वको गुरु राष्ट्र हो । महेश योगीले नेपाल लिड टु वल्र्ड अर्थात नेपालले विश्वलाई नेतृत्व दिनुपर्छ भन्नुभयो । 

हर विषयको ज्ञानविज्ञान यही भूमिमा प्रस्फुटन भएर यहीँबाट विश्वका अन्यत्र छरिएका हुन् भन्नेमा दुईमत छैन, विश्वले स्वीकार गरेको कुरा हो । विगत र वर्तमानमा पनि परा र अपरा विद्याका अन्वेषक, अध्येता, अनुसन्धाताहरू नेपाल नआइ आफ्नो साधना अथवा खोज पूरा भएको ठान्दैनन् । धेरै खोजीका साधनस्रोत र ज्ञानविज्ञान नेपालमै भएको कुरामा सबैले विश्वास गर्छन् । योगको हकमा पनि यही मान्यता लागू हुन्छ । भौतिक विकासको दृष्टिकोणले अन्य मुलुकभन्दा केही कमजोर देखिए पनि यो भूमि योग एवं धार्मिक सांस्कृतिक आध्यात्मिकलगायतका ज्ञानविज्ञानमा अगाडि छ । 

कुनै पनि देशको विकास हुन, आत्मनिर्भर हुन सम्बन्धित मुलुकको प्राकृतिक साधनस्रोत, सम्पदा, धर्म, दर्शन, कला, संस्कृति, मौलिक ज्ञानविज्ञानको संरक्षण, अध्ययन, अनुसन्धान, सदुपयोग, अभ्यास, व्यवहार र यी विषयहरूबाट गर्नसकिने भौतिक एवं ज्ञानात्मक उत्पादन हुन जरुरी हुन्छ ।

आफूसँग जे साधनस्रोत छ त्यसको सदुपयोग र संरक्षणपूर्वक त्यसबाट हुनसक्ने उत्पादनलाई समयानुकूल ढङ्गबाट उत्पादनमुखी बनाएर विश्व बजारमा पु-याउन सकेमात्रै त्यो मुलुक आत्मनिर्भर हुने हो । अन्यथा आत्मनिर्भर होइन न जनता बाँच्नसक्छन् न त मौलिकता नै बाँच्छ । अतः योग हाम्रो धर्म हो, दर्शन हो, ज्ञानविज्ञान हो, मौलिकता पनि हो । हाम्रो निधि पनि हो । यसको अध्ययन, अनुसन्धान, सदुपयोग, अभ्यास तथा प्रयोगलाई देशमा र विश्वभरका लागि लक्षित गरी सोही अनुसारको नीति एवं कार्यक्रम तर्जुमा गरी कार्यान्वयनको पक्षमा अगाडि बढ्न जरुरी हुन्छ ।

Author

दीपक सुवेदी