• १४ असार २०८२, शनिबार

कर्मशील साधक

blog

जन्म र मृत्यु प्राकृतिक चक्र हो । व्यक्तिको जन्म संयोगको कुरा हो तर मृत्यु सत्य हो । यो सत्य ज्ञात हुँदाहुँदै पनि मानिसले आफ्नो आवश्यकता पूर्ति गर्नुभन्दा पनि विपुल सम्पत्ति आर्जन गर्ने चाहना राख्छन् । सायद मानिसको यही चाहनाको कारण पनि राष्ट्रको आर्थिक प्रगति, नयाँ नयाँ अनुसन्धान, आविष्कार भएका छन् । मानिसको जीवन सुखमय बन्दै गएको छ । सन्तुष्टता मानसिक शान्तिका लागि उपयुक्त होला तर व्यक्ति, समाज र राज्य सन्तुष्ट भयो भने प्रगति रोकिन्छ । योगीहरू पनि ज्ञान, मोक्ष र परमात्मा प्राप्तिका लागि निरन्तर साधनामा रहन्छन् । हामी सबै साधनारत छौँ । प्रत्येक व्यक्तिको जीवन पथ र लक्ष्य अनुसार फरक फरक लक्ष्य प्राप्तिको साधनामा सबै मानिस छन् ।

विक्रम संवत् १९९३ मा जन्मनुभएका ढुण्डिराज शास्त्री प्रजातन्त्र, समता तथा मानव कल्याणमा समर्पित कर्मशील साधक हुनुहुन्थ्यो । बाल्यकालदेखि नै दयालु तथा सहयोगी मनका शास्त्री किशोर अवस्थादेखि नै प्रजातान्त्रिक विचारप्रति आकर्षित हुनुभयो । युवा अवस्थाको प्रारम्भिककालमै उहाँ नेपाली कांग्रेसको समर्पित कार्यकर्ता बन्नुभयो । मेरो पहिलो भेट उहाँ नेपाली कांग्रेसको नेता तथा समाजवादका व्याख्याता बनिसकेपछि मात्र गोरखपुरमा भएको थियो । मैले नेपाली कांग्रेसको राजनीतिमा रुचि राख्न सुरु गरेदेखि नै उहाँको नाम सुनी आएको थिएँ । म काठमाडौँमा अध्ययन गर्ने भएकाले गोरखपुर बनारसमा अध्ययन गर्ने साथीहरूबाट उहाँका बारेमा प्रशस्त जानकारी प्राप्त गरेको थिएँ । नेपालबाट गएका विद्यार्थीलाई सहजताका साथ सहयोग गर्ने तथा उनीहरूलाई जम्मा गरी उहाँ प्रजातान्त्रिक समाजवादको विषयमा सैद्धान्तिक ज्ञान प्रदान गर्नुहुन्थ्यो । उहाँले राजाको निरङ्कुश शासनको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाको आवश्यकताका बारेमा सचेत बनाउने कार्य गर्नुहुन्थ्यो ।

ढुण्डिराज दाइसँग गोरखपुरमा प्रथम भेट भएदेखि नै उहाँ र मेराबिच सामीप्यता तथा आत्मीयता बढ्दै गयो । उहाँ भारतमा निर्वासनमा बस्दा होस् वा प्रतिबन्धित कालमा बुटवलमा बस्दा, उहाँसँग निरन्तर भेट, छलफल र सरसल्लाह हुन्थ्यो । २०३६ सालअघिको कठोर पञ्चायती शासनकालमा पार्टी सङ्गठनलाई कसरी बचाउने कार्यकर्ता तथा जनसामान्यमा कसरी पार्टीको सिद्धान्त र उद्देश्यको प्रसार गर्ने भनी छलफल सल्लाह गथ्र्यौं । जनमत सङ्ग्रह घोषणापछि भने बहुदलको प्रचारप्रसारमा प्रतिबन्धित नेपाली कांग्रेसको पहिचान र निलो झन्डाको साथमा हामी जिल्लाव्यापी प्रचारप्रसारमा हिँड्यौँ । ढुण्डिराज दाइ, म, दिनेश बस्याल, अनुपकुमार सोल्टी, खग्रेन्द्रराज पोख्रेल, भोजबहादुर बस्नेत, विष्णुप्रसाद आचार्य, हिरण्यप्रसाद आचार्यलगायत हामीहरू सभा गर्ने, जनमत सङ्ग्रहको महत्वका बारेमा प्रकाश पार्ने र बहुदल स्थापनाको आवश्यकताको व्याख्या गर्ने गथ्र्यौं । यद्यपि त्यतिबेला पनि पञ्चायतका मण्डलेहरू र मण्डलेसँगको अघोषित तालमेलमा तत्कालीन मालेले हाम्रा सभा बिथोल्ने हाम्रै साथीहरूलाई भौतिक आक्रमण गर्ने काम गरी व्यवधान सिर्जना गर्ने काम गरेका थिए । सभाहरूमा ढुण्डिराज दाइले जनमत सङ्ग्रह र प्रजातन्त्रको अतिरिक्त नेपाली कांग्रेसको समाजवादी विचारको बारेमा आफ्ना धारणा बढी व्याख्या गर्नुहुन्थ्यो । तत्कालीन समयमा कम्युनिस्टबाट मात्र साम्यवाद, समाजवादको चर्चा सुनिआएका जनतामा समाजवादको प्रजातान्त्रिक स्वरूपबारे चर्चा हुँदा नयाँ चेतना फैलिएको थियो । जुन कुरा कम्युनिस्टलाई असह्य हुन्थ्यो ।

दुर्भाग्यवश जनमत सङ्ग्रहमा बहुदल पक्ष गणितीय रूपमा पराजित हुन पुग्यो । यो धरातलीय जनभावनाको विपरीत परिणाम थियो तर पनि नैतिक रूपले बहुदलले जितेको थियो । विकल्पहीन भनिएको पञ्चायतको विरुद्धमा २० लाख जनता उभिएर पञ्चायतको निर्विकल्पतालाई खोक्रो साबित गराई दिएका थिए । यद्यपि निरन्तरको सङ्घर्षको कारण जनमत सङ्ग्रहको १० वर्षपछि मात्र प्रजातन्त्र पुनस्र्थापना हुन सक्यो । यस बिचमा नेपाली कांग्रेसले सत्याग्रहलगायतका अनेक शान्तिपूर्ण आन्दोलन र विरोधका कार्यक्रम आयोजना गर्‍यो । जसमा ढुण्डिराज दाइलगायत हामीहरू संलग्न रही प्रहरी हिरासत तथा जेल यातना पनि भोग्यौँ । अनेकन सङ्घर्षपछि २०४६ साल माघमा काठमाडौँ गणेशमानजीको निवास प्राङ्गणमा भएको नेपाली कांग्रेसको सम्मेलनले २०४६ फागुन ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गर्‍यो । फलस्वरूप आन्दोलनको दबाबको कारण चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध हटाई बहुदल घोषणा गरे । ढुण्डिराज दाइलगायत हामी आदर्शको राजनीतिबाट आदर्शलाई व्यवहारमा परिणत गर्ने वास्तविक कर्म क्षेत्रतर्फ लाग्यौँ । 

ढुण्डिराज दाइको समाजवादसम्बन्धी स्वअध्ययन पनि थियो तर बनारसमा निर्वासनमा बस्दा बिपीसँगको सान्निध्यता, उहाँसँग बहस, छलफल र बिपीको समाजवादी जीवन चरित्र र आचरणबाट उहाँ प्रभावित हुनुभयो । जीवनकालभर उहाँले समाजवादबारे बिपीको चिन्तन र विचारलाई नेपाली कांग्रेसले आत्मसात् गर्नु पर्छ, उदारवादको लहरमा यसबाट विचलित हुने हो भने न राष्ट्रको उन्नति हुन सक्छ न त निम्न वर्गलाई न्याय हुन्छ भनी निरन्तर वकालत गरिरहनुभयो । उहाँका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख तथा पार्टीका मञ्चमा व्यक्त गरिएका मन्तव्य यसै विचारबाट निर्देशित हुने गरेका थिए । देशमा २०५२ सालदेखि माओवादी हिंसा चर्किन लागेपछि सिंहदरबार केन्द्रित राज्यले गाउँमा पर्याप्त ध्यान दिन नसकेको कारण गरिबीमा पिल्सिएका जनता नै माओवादीसँग आकर्षित भएका हुन् भन्ने ठम्याइका साथ उहाँले २०५६ सालमा राज्यको पुनर्संरचनाको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेसले तत्काल यो प्रस्ताव ग्रहण गर्न सकेन, जुन कुरा आज यथार्थ बन्न पुगेको छ । यसबाट उहाँको दूरदर्शिता झल्किन्छ ।

ढुण्डिराज दाइले २०४८ र २०५१ सालमा दुई पटक प्रतिनिधि सभामा अर्घाखाँचीको क्षेत्र नं २ बाट प्रतिनिधित्व गर्नुभयो । दुवै पटक नै उहाँ उद्योगमन्त्री बन्नुभयो । प्रतिनिधि सभामा रहँदा तथा उद्योगमन्त्री हुँदा उहाँले कति काम गर्न सक्नुभयो ? आफ्नो सोच अनुसार काम गर्ने अनुकूलता मिल्यो कि मिलेन ? त्यो बेग्लै तथा आममानिसले मूल्याङ्कन गर्ने कुरा हो तर उहाँले आफू सरकारमा रहँदा र प्रतिनिधि सभामा रहँदा इमानदार प्रयत्न गर्नुभयो भन्न हिचकिचाउनु पर्दैन । सबैको कल्याण चाहने, न्यायप्रेमी तथा पूर्वाग्रहरहित व्यक्तिबाट सज्ञान नराम्रो काम हुनै सक्दैन । आज अर्घाखाँचीले एउटा पथ प्रदर्शक अभिभावक गुमाएको छ र देशले एक सच्चा राष्ट्रवादी, प्रजातन्त्रवादी तथा समाजवादी चिन्तकलाई गुमाएको छ । ढुण्डिराज दाइको स्वर्गारोहण भएको आज १३ औँ दिनको पुण्य अवसरमा यिनै सङ्क्षिप्त शब्दावलीका साथ उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।