अविनाश चौधरी
धनगढी, साउन २ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बसेको ठाउँबाट मुक्त कमैयालाई कसैले उठाउन खोजे त्यसको प्रतिवाद आफूले गर्ने बताउनुभएको छ।
२५ औं मुक्त कमैया दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित कमैया मुक्ति दिवस समारोहलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मुख्यमन्त्रीले भन्नुभयो,“बर्षौदेखि बसोबास गर्दै आएका कमैयालाई उनीहरु बसेको ठाउँबाट कसैले उठाउँछन् भने पद्मा रहँदा वा नरहँदा सबैभन्दा पहिले त्यसको प्रतिवाद मैले गर्नेछु।”
उहाँले मुक्त कमैया, हलिया, कम्लहरीको जीविकोपार्जन र आर्यजनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो। छुट मुक्त कमैया, हलिया, कम्लहरीको पहिचान र पुनस्र्थापनाका लागि प्रदेश सरकारले कार्यविधि तयार पारेको र कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले मुक्त कमैयाहरु अब त्रसित भएर बस्न नपर्ने उल्लेख गर्नुभयो।