• १६ असार २०८१, आइतबार

खेल क्षेत्रमा राजनीति नगर्नुहोस : मन्त्री अथक

blog

एन्फा चुनावी साधारण सभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र साथमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौं, जेठ ६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं चुनावी साधारण सभाको सोमबार उद्घाटन गर्दै मन्त्री अथकले एन्फामा देखिएको समस्या सहमतिमा समाधान गरेर अगाडि बढ्न आग्रह गर्नुभएको हो । 

राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, ‘राज्यले फुटबलमा ठुलो लगानी गरीरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन् ।’ यद्यपी नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उहाँले बताउनुभयो ।  

‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री अथकले भन्नुभयो । खेललाई उद्योगका रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो । ‘नेपाल प्राकृतिक रुपले सुन्दर छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री अथकले भन्नुभयो, हाम्रो जस्तो देशमा खेल पर्यटनको सम्भावना अत्याधिक मात्रामा रहेको छ ।’

खेललाई ब्यवसायीक तथा आर्थिक क्षेत्रका रुपमा समेत विकास गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, ‘आगामी विश्वको उदाउँदो उद्योग भनेको नै खेल क्षेत्र हो ।’ नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडीका रुपमा उत्पादन गर्न विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री अथकले गोर्खा स्प्रिडलाई अगाडी बढाउने गरी एन्फाको आगामी नेतृत्वले रणनिति बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले एन्फाको निर्वाचन सफलताको शुभकामना दिनुभएको छ । एन्फाको २१औं चुनावस् साधारण सभाले चार बर्षका लागि अध्यक्ष सहित २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ । निर्वाचनमा एन्फामा आवद्ध ४७ जिल्ला मध्ये ४४ जिल्ला, ए, बी, सी डिभिजन क्लब, प्रशिक्षक, खेलाडी, रेफ्री र महिला समिति समेत गरी ८४ प्रतिनिधिले मतदान गर्नेछन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिनुभएको छ । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।