• ३ साउन २०८२, शनिबार

दुई पटक टी-२० विश्वकप खेलेको नेपाल तेस्रो यात्राको तयारीमा

blog

तयारीका लागि बैंगलोरु जानुअघि त्रिवि मैदानमा तयारी गर्दै नेपाली टोली । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, साउन ३ गते । सन् २०१४ र त्यसको १० वर्षपछि सन् २०२४ मा गरी दुई पटक टी–२० विश्वकप खेलेको नेपाल अहिले फेरि विश्वकप छनोटको तयारीमा जुटेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार मात्र आइसिसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० सदस्यीय खेलाडीको नाम घोषणा गरेको छ ।

क्यानले विश्वकप छनोट लक्षित भारतको बैंगलोरुमा सहभागी हुने दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो । बैंगलोरु जाने टोलीमा अनुभवी खेलाडीभन्दा नयाँलाई प्राथमिकतामा राखिएको छ । 

नेपालले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा साउन ५ देखि १८ गतेसम्म प्रशिक्षण गर्ने छ । 

अस्ट्रेलियाका प्रशिक्षक स्टुअर्ट लको आगमनसँगै नेपाली टोलीको प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ । विशेष गरी नेपाली टोलीको ब्याटिङमा सुधार भएको हो । 

सन् २०२६ मा भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहनेछ । हालसम्म १५ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् । 

अब एसिया र अफ्रिका महादेशबाट पाँच टोलीको निक्र्योल हुन बाँकी छ । एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुने छ । 

एसियाली छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुने छ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापानकाे सामना गर्दैछ  ।

यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । 

सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन् । छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्ने छ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने छ ।

यस्तै अफ्रिकाको छनोट आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जिम्बावेमा हुने छ । अफ्रिकाबाट छनोटको दावेदार जिम्बावे र नामिबियासहित युगान्डा, तान्जेनिया, नाइजेरिया, नामिबिया, मालवी, केन्या र बोत्सवाना गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई दुई समूहमा बाँडिएको छ । समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

विश्वकप आयोजक भारत र श्रीलङ्का आयोजकका हिसाबले सिँधै छनोट भएका छन् । थप आठ टोली अघिल्लो विश्वकपको सुपर आठमा पुगेर सिँधै छनोट भएका हुन् ।

जसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान र बङ्गलादेश छन् । यस्तै आइसिसीको वरीयताको आधारमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् । यी तीन टोली अघिल्लो विश्वकपको सुपर आठमा रहन सकेका थिएनन् ।

यस्तै विश्वकपमा युरोपबाट नेदरल्यान्ड्सले विजेता र इटालीले उपविजेता बन्दै विश्वकपमा स्थान पक्का गरेको छ । इटालीले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिकी छनोटबाट क्यानाडाले विश्वकपमा स्थान पक्का गरेको छ ।  

सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि विश्वकपमा सन् २०१२ सम्म १२ र सन् २०१४ देखि २०२२ समम १६ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । सहभागी सङ्ख्या बढेसँगै अबको विश्वकपमा ५५ खेल हुने छन् ।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्ने छन् । फेरि सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिने छ । जसबाट चार टोली सेमिफाइनलमा पुग्ने छन् ।

हालसम्म भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई दुई पटक विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक एक पटक उपाधि चुमेका छन् ।

यस्तै पाकिस्तान र श्रीलङ्का दुई पटक तथा अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिका एक एक पटक उपविजेता बनेका थिए ।