• ३ साउन २०८२, शनिबार

रोपाइँपछि गाउँघरमा ‘हर्ढावा’

blog

असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । रोपाइँ सकिएपछि मनाइने यो पर्व थारूको साझा श्रम, कृषि जीवनशैली र विश्रामको पर्व हो । कैलाली, बर्दिया, बाँके, दाङलगायत पश्चिम नेपालका थारू बस्तीमा यो पर्व उत्साहपूर्वक मनाइन्छ ।

ठाउँ अनुसार हर्ढावाको फरक फरक उच्चारण गरेको पाइन्छ । यसलाई हरढवा, हर्दहुवा, हरडौहा, हर्दह्वा वा हर्ढावा पनि भन्ने गरिन्छ । तथापि जे भने पनि यसको सार एउटै छ । थारू भाषामा ‘हर’ को अर्थ हलो हो । ‘हर धोएर राखिने’ भएकाले यसलाई ‘हर्ढावा’ भनिएको हो । यो पर्वको आरम्भ रोपाइँको अन्त्यपछि दुई/तीन दिनको तयारीबाट हुन्छ । यो पर्व मनाउन गाउँमा सबैको रोपाइँ सकिएको हुनु पर्छ । ‘हर्ढावा’ कहिले मनाउने भनेर ‘बरघर’ अर्थात् गाउँका मुखियाको घरमा ‘कचेहरी’ अर्थात् भेला बस्छ । सोही ‘कचेहरी’ ले हर्ढावा कहिले मनाउने ? कस्को जिता (सुँगुर) मार्ने ? जस्ता निष्कर्ष निकाल्छ । यो पर्वमा बाहिर गएका परिवारका सदस्य, नातागोता विशेषतः चेलीबेटी, ज्वाइँ, फुपूहरूलाई र गाउँलेलाई पाहुनाका रूपमा हर्ढावा खान बोलाइन्छ । हर्ढावा मनाउने दिनको बिहानै हलो, जुवा, हँसिया, फरुवा आदि कृषि औजारको सरसफाइ, शुद्धीकरण गरी सुरक्षित स्थानमा राखिन्छ । कतै कतै यी औजारको पूजा गरिराख्ने चलन पनि छ । उक्त दिन गाउँका किसान सबै जना मिलेर जिता मार्ने गर्छन् । थारू भाषामा जिता मार्ने भनेको सुँगुर काट्ने हो । थारूगाउँमा सामूहिक रूपमा सुँगुर काटिन्छ र सबैलाई मासुको भाग लगाइन्छ । गाउँलेले पैसा तिरी आफ्नो आवश्यकता अनुसारको मासुको भाग लिएर घर घर लाग्छन् । सुँगुरको मासु नखानेलाई लोकल भालेलगायत अन्य मासुको व्यवस्था गरिएको हुन्छ । महिला चाहिँ जाँड, रक्सी र अन्य भान्साको तयारीमा जुट्छन् । जब प्रत्येक घरको भान्साबाट धुवाँ उड्न थाल्छ तब मासुको स्वाद गाउँभरि फिलिन्छ र सबैको घरमा विभिन्न स्वादिलो परिकार तयार हुन्छ । 

साँझपख गाउँघरका छरछिमेकी र चेलीबेटी, ज्वाइँ, फुपूहरू र घरका सदस्य जम्मा भएपछि हर्ढावा भोजको रौनक सुरु हुन्छ । सबै जना बर्खामा गरेको दुःख, हिलो माटो र घामपानीलाई भुलेर हर्ढावामा रमाउन थाल्छन् । 

थारू समुदायमा खेतीपातीको समयमा कसैको घरमा केही भवितव्य भएमा खेती, रोपाइँ जस्ता कार्यमा छिमेकीले सहयोग गरिदिने चलन छ । त्यस्ता सहयोगी छिमेकीलाई पनि हर्ढावाको दिन बोलाएर सुँगुरको मासु, जाँडरक्सी र अन्थ मिठोमिठो परिकारसाथ स्वागत गरिन्छ । 

थारूगाउँमा पूजापाठ पनि विशेष तरिकाको खास समयमा गरिन्छ । ढुह्र्या गुरै (जस्मा खेतीपाती राम्रो होस्) भनेर पूजा गरिन्छ । त्यसपछि कुलो खन्ने र खेत जोत्ने गरिन्छ । धानको बिउ छर्नु र धान रोप्नुभन्दा पहिले विशेष पूजा गरिन्छ । जस्तै ‘बर्का कल्वा खाने’, ‘मोर्हा पूजा’ आदि । थारू भाषामा बर्का कल्वा खाने भनेको धान रोपाइँ सुरु गर्ने दिन खाने परिकार हो । यस्तो खाना खेतमा नै खाइन्छ । ‘बर्का कल्वा खाने’ दिन कुलदेउतालाई जल र दारु चढाएर पूजा गरिन्छ । त्यस्तै ‘मोर्हा’ भनेको कुलोबाट पानी लगाउने खेतको मुहान हो । खेतमा राम्ररी पानी लागोस्, बालीनाली सप्रोस् र उत्पादन राम्रो होस् भनेर ‘मोर्हा’ पूजा गरिन्छ । यो पूजा खेतको मुहानमा नै गरिन्छ । पूजामा कुलदेउतालाई जल र दारु चढाउने चलन छ । ‘मोर्हा’ पूजा नगरी धान रोप्नेलगायतका कार्य गर्दा अनिष्ट हुने तथा बाली नसप्रिने विश्वास रहिआएको छ । 

त्यस्तै धान रोपेर सकेको दिन या हर्ढावाको दिन बर्खाभरि मेहनतसाथ हलो जोतेका गोरु तथा राँगालाई पनि नुहाइदिने र हरियो घाँस, पिना, नुन मिसाई खान दिइन्छ । राम्ररी खेती सकेकोमा गोरु तथा राँगालाई पनि त्यो दिन स्नेहपूर्वक स्याहार गरिन्छ । 

हर्ढावाको अर्को दिन बिहान पनि नजिकका (अघिल्लो दिन आउन नसकेको पाहुना) हरूलाई बासी खान बोलाइन्छ । थारू भाषामा बासी भनेको कुनै चाडको अर्को दिनको बिहान खाने खाना हो । 

हर्ढावापर्व थारू समुदायको परम्परागत कृषि चक्रसँग जोडिएको एक मौलिक उत्सव हो, जहाँ बर्खाभरको कडा मेहनतपछि किसानले परिवार र समुदायसँग रमाइलो गर्दै थकान मेट्छन् । रमाइलो अवसरमा कतिपय स्थानमा अत्यधिक जाँडरक्सीको सेवन हुने गरेको देखिन्छ ।

थारूगाउँमा बस्ने सबै जसो थारू र गैरथारूले पनि हर्ढावा खाने गरेका छन् । रोपाइँ सम्पन्न भएपछि थारूहरूले श्रमको सम्मानस्वरूप, शरीर विश्रामका लागि र समृद्ध वर्षको कामनासहित यो पर्व धूमधामसाथ मनाउने परम्परा रहेको छ । हर्ढावा शब्द आफैँमा रोचक छ । थारू भाषामा यसको अर्थ ‘श्रमपछि विश्राम र रमाइलोको दिन’ भन्ने बुझिन्छ । रोपाइँको थकाइ मेटाउने र किसानको सामूहिकता झल्काउने दिनका रूपमा यो मनाइन्छ । गाउँभरिका मानिस एकअर्काको घरमा ‘हर्ढावा’ मान्ने चलन छ । यसले एक प्रकारको सामाजिक सम्बन्ध सुदृढ बनाउने अभ्यासलाई पनि जीवन्त राख्छ । 

यस पर्वको अर्को विशेषता सामूहिक मिलन र संवादको अवसर हुनु हो । सहरिया जीवनशैलीमा जहाँ परिवार छुट्टाछुट्टै बस्न थालेका छन्, गाउँमा भने 

‘हर्ढावा’ जस्ता पर्वले आफन्त, नातागोता, छोरीबेटीलाई घरपरिवार र आफन्तजनसँग भेट हुने एउटा राम्रो बहाना दिन्छ । परिवारका सदस्य, टाढा रहेका आफन्त, विवाह गरेर गएका 

छोरीबुहारीसमेत घर फर्कन्छन् । रमाइलो गरी सँगै बस्ने, गाउँको समसामयिक विषयमा छलफल गर्ने मौका मिल्छ । अनुभव साटासाट गर्ने वातावरण पनि यही पर्वले सिर्जना गर्छ । यसरी हर्ढावा थारू समुदायमा केवल पर्व नभई सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यास पनि हो । समयसँगै यस पर्वका स्वरूपमा केही परिवर्तन पनि देखिन थालेको छ । अहिले भने आधुनिक मनोरञ्जनका साधन जस्तै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रभावले ती परम्परागत अभ्यास केही कमजोर भएका छन् । युवापुस्ता पनि गाउँकै भेला र चटारोमा भन्दा इन्टरनेटका भिडियो वा गेममा अल्झिन थालेका छन् । यसले परम्परागत ज्ञान र सांस्कृतिक अभ्यासमा असर पार्ने चिन्ता अभिभावक पुस्तामा बढ्दै गएको छ ।

यद्यपि कतिपय गाउँले युवाले परम्परालाई पुनर्जीवित गर्ने प्रयास पनि गरेका छन् । लोकसांस्कृतिक समूह गठन गर्ने, समुदायस्तरमा अन्तरपुस्तात्मक कार्यक्रम राख्ने जस्ता कार्य गरेर हर्ढावा जस्ता लोकपर्वलाई आधुनिक सन्दर्भमा पनि जोगाउने प्रयास भइरहेका छन् । स्थानीय सरकार र थारू समाजका अगुवाले यस्तो सांस्कृतिक पर्वलाई संरक्षण र प्रवर्धन गर्ने नीति बनाउने हो भने युवाको आकर्षण पनि बढ्न सक्छ । विद्यालय पाठ्यक्रममा थारू भाषा र संस्कृति समावेश गर्ने तथा सांस्कृतिक शिक्षा दिन सक्ने कार्यक्रम यसमा सहयोगी हुन सक्छन् ।

हर्ढावा केवल उत्सवको नाम होइन, यो पर्व थारू समुदायको जीवनदर्शन, श्रमप्रतिको आदरभाव, सामूहिकता, सम्बन्धको सुदृढीकरण र संस्कृतिको संरक्षणप्रति गरिएको आत्मप्रशस्ती हो । जहाँ एकातिर थकाइ मेटिन्छ, अर्कोतिर सम्बन्ध बलियो हुन्छ । प्रकृतिप्रति, जमिनप्रति, कृषि औजारप्रति गरिएको श्रद्धा यस पर्वको मौलिक विशेषता हो । यस्तो सांस्कृतिक अभ्यास आधुनिक यान्त्रिक जीवनशैलीमा हराउँदै गएको चेतनालाई पुनः स्मरण गराउने अवसर पनि हो ।