केशवराज भट्ट
वासुलिङ्ग (बैतडी), साउन १ गते । सुदूरपश्चिम प्रदेशसहित बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, दार्जुला, कैलाली र कञ्चनपुर जिल्लामा आज परम्परागत हरेली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । श्रावण शुक्ल सप्तमीका अर्थात साउन १ गतेका दिन मनाइने यो पर्व विशेषगरी कृषि, गाईवस्तु, हरियाली र प्रकृतिप्रतिको आस्थासँग सम्बन्धित रहेको सूर्नया ३ का ज्याेतिषी पुष्करदत्त भट्टले बताउनुभयो ।
हरेली पर्वलाई हरियालीको उत्सवका रूपमा लिइन्छ । सुदूरपश्चिमका थुप्रै गाउँ–बस्तीहरूमा आज बिहानैदेखि हलगोरु, कृषि औजार, गाईवस्तु र घर–आँगनको विशेष सरसफाई गरिनुका साथै कृषिका औजारहरूको पूजा गर्ने चलन रहेको ज्याेतिषी भट्टले बताउनुभयो ।
पाटन नगरपालिका–३ का स्थानीय कृषक रामदत्त भट्ट भन्नुहुन्छ, ‘‘हरेली पर्व हामी किसानहरूको महान् चाड हो । गोरु, हल, कुटो, कोदालो आदिलाई पूजा गरेर हामी आफ्ना श्रम साधनप्रति सम्मान प्रकट गछौँ ।”
हरेलीको अवसरमा घरको मूल ढोका, झ्यालहरुमा हरिया ( स्थानीय भाषामा माजरो, झिझिरकाडी, दूबो ) लगायतका वनस्पति बाँध्ने प्रचलन रहेको भट्टले बताउनुभयो । यसले घरमा रोग र अशुभ शक्तिको प्रवेश हुन नदिने जनविश्वास रहेको उहाँले बताउनुभयो । साथै, गाईवस्तुलाई दुध, चिउरा, गुडलगायत मीठो परिकार खुवाइयो भने घरमा दुहुनो गाई, भैँसी भइराख्ने अटल विश्वास रहेको भट्टले बताउनुभयो ।
हरेली कुनै धार्मिक कर्मकाण्ड मात्र होइन, यो कृषि, संस्कृति र प्रकृतिसँग जोडिएको साझा उत्सव हो । यो दिनले हामीलाई सम्झाउँछ । हाम्रो जीवन चक्र जमिन, जनावर र जङ्गलसँग समेत जोडिएको शैल्यशिखर –४ दार्चुलाका धर्मानन्द भट्टले बताउनुभयो ।
‘‘ भट्टले भने, हरेलीको दिन कृषि औजारहरू, हलो, कोदालो, कुटो, डाेको, नाम्लो सफा गरिन्छ । तिनलाई तिलको तेल लगाएर पूजा गरिन्छ । यी सबै मेहनतका साझेदार हुन् । किसानहरूको पसिना बिना अन्न उब्जँदैन, त्यसैले हरेली उनीहरूको चाड हो ।” भट्टले भन्नुभयो ।
यस पर्वको अवसरमा सामूहिक भेला, नाचगान, र परम्परागत बाजागाजासहित सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने गरेका छन् । कतिपय ठाउँमा किसानहरूबीच खेतीसम्बन्धी अनुभव आदानप्रदान हुने गरेको शिवनाथ गाउँपालिका–६ का हरि मङ्गोलाले बताउनुभयो ।
हरेली पर्वले पर्यावरण संरक्षण, कृषि श्रमको सम्मान र सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो । पहिलाभन्दा पछिल्ला वर्षहरूमा यो पर्वमा सहभागी हुने युवाहरूको सङ्ख्या पनि बढ्दै गइरहेको मङ्गोलाले बताउनुभयो । डिलाशैनि गाउँपालिका–७ का संस्कृतिका जानकार हरि दत्त जोशीका अनुसार हरेली जस्ता मौलिक पर्वहरू हाम्रो सांस्कृतिक सम्पदा हुन् । यिनको संरक्षण र प्रवर्धन राज्यको दायित्व हो ।
हरेली पर्व केवल धार्मिक वा सांस्कृतिक चाड मात्र नभई कृषिप्रतिको आस्था र जीवनशैलीसँग जोडिएको मौलिक उत्सवको रूपमा मनाइने पर्वका रुपमा परिचित रहेको जोशीले बताउनुभयो । साउन महिनालाई अती पवित्र महिना मानिने भएकाले, आजकै दिन देखि बैतडी लगायत सुदूरपश्चिमका मठ मन्दिरहरुमा धुप बत्ती, पूजा आराधना गर्नेको समेत घुइँचो लाग्ने गर्दछ ।