वृद्ध भएपछि आफन्तबाट उचित हेरचाह, स्याहारसुसार र सुरक्षाको उत्तिकै खाँचो हुन्छ । वृद्धवृद्धाले आफूले धेरै दुःख र कष्टका साथ हुर्काएका सन्ततिबाट उचित सम्मान र व्यवहारको अपेक्षा राखेका हुन्छन् तर उनीहरूको अपेक्षा पूरा हुन सकिरहेको पाइँदैन । बुढेसकालले छोएकाहरू यसको विकल्पका रूपमा वृद्धाश्रमलाई लिन थालिसकेका छन् ।
वृद्धवृद्धा भनेका अनुभवका खानी हुन् । उनीहरूले जीवनमा हासिल गरेको अनुभव, सिप र ज्ञान युवापुस्ताका लागि शिक्षाप्रद हुन्छ । कुलतमा फसेका र पश्चिमी संस्कृतिमा भुलेका युवापुस्ताले यिनीहरूको जीवनका सकारात्मक पक्षलाई अनुसरण गर्ने हो भने पनि आफूलाई सुधार्न मद्दत पुग्न सक्थ्यो तर पुस्ता पुस्ताबिचको अन्तरले वृद्धवृद्धा र युवावर्गबिचमा धारणागत खाडल बढ्दै गइरहेको छ । अधिकांश वृद्धवृद्धा नयाँ सोच, नयाँ कार्यशैलीलाई अपनाउन तयार छैनन् भने युवापुस्ता पुरानो सोचाइबाट फड्को मारी आधुनिक युगमा प्रवेश गर्न चाहन्छन् ।
अहिलेका युवापुस्ताले नराम्रो कुराको अनुसरणबाट समाजमा विकृति फैलन थालेको पाइन्छ । पहिले परिश्रम धेरै गर्नुपर्ने भएकोले फुर्सद हुँदैनथ्यो तर अहिलेका मानिस फुर्सदिला बन्दै गएकोले विकृतितिर लागेका छन् । उमेर छँदा सबैले मान्छन्, आफन्त जस्तै व्यवहार गर्छन् तर बुढो भएपछि कसैले पनि मन पराउँदैनन् । कतिपय बुढाबुढीले समय अनुसार आफूलाई परिवर्तन गर्न सकेकाले उनीहरू परिवारमा सहज रूपले घुलमिल हुन सकिरहेका छन् । उनीहरू आफ्ना जमानाका कुरा परिवारमा लागु हुनुपर्ने अडान राख्छन् । आफूले पहिले भोगेका दुःख सम्झिँदै त्यस्तै दुःख परिवारका अरूले पनि गर्नुपर्ने धारणा राख्छन् तर यसो हुन नसक्दा परिवारमा बेमेलको वातावरण सिर्जना हुन थाल्छ । यद्यपि कतिपय वृद्धवृद्धा भने परिवारको सल्लाह अनुसार काम गर्ने, घरमा बच्चा हेरिदिने, धार्मिक स्थानमा मन बहलाउन जाने कार्यमा संलग्न हुने गरेको पाइन्छ । केटाकेटीसँग खेल्ने, उनीहरूलाई स्याहार गर्दा उनीहरूको समय पनि सजिलै बित्छ भने बालबालिकाले पनि घरैमा व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाउँछन् । उनीहरूसँग घुलमिल भएका केटाकेटी सहयोगी, व्यावहारिक र मिलनसार हुने अपेक्षा राख्न सकिन्छ ।
घरमा परिवारबाट अपहेलित भएका वृद्धवृद्धाका लागि वृद्धाश्रम सहारा बनिरहेको छ । कतिपय आफन्त नभएका र छोराबुहारीको कुटाइ र टोकसो सहन नसकेर घर छोडेका पनि सहारा लिन वृद्धाश्रम आउने गरेका छन् । आश्रमका वृद्धको यसअघिको जीवनलाई फर्केर हेर्दा अर्काको घरमा काम गरिदिन बसेका, आफन्तको दुव्र्यवहारले घरबाट लखेटिएका, खेती गरेर जीविका चलाएका तथा बनी गर्नेहरू भेटिन्छन् । सम्पन्न व्यक्तिको घरमा काम गरेर बसेका र काम गर्न नसक्ने भएपछि सम्पन्नद्वारा यहाँ ल्याइएका वृद्धवृद्धा पनि भेटिन्छन् । समाजका विभिन्न क्षेत्रबाट वृद्धाश्रममा आएका वृद्धवृद्धा भाग्यमा यस्तै लेखिएकोले यस्तो जिन्दगी बिताउनु परेको बताउँछन् । समाजमा आफू अपहेलित हुनु परेकोले मृत्युलाई नै अन्तिम लक्ष्य मानेर बसेका यी वृद्धवृद्धा धार्मिक क्षेत्रमा मर्न पाए मुक्ति पाइन्थ्यो भन्ने मान्यता राख्छन् ।
२०७८ सालको जनगणना अनुसार ६० वर्षभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या २९ लाख ७७ हजार ३१८ रहेको छ । यो कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छ । कति उमेरदेखि मानिसलाई वृद्धका रूपमा मान्ने भन्ने समान मान्यता पाइँदैन । नेपाल सरकारले ५८ वर्षपछिलाई वृद्ध मानेको छ भने प्रशासन र शिक्षण संस्थामा यो उमेर फरक पाइन्छ । त्यसै गरी अदालततर्फ सर्वोच्च अदालतले ६५ वर्ष माथिकालाई वृद्ध मानेको छ । वृद्ध भत्ता प्रदान गर्नका लागि भने ६८ वर्षलाई वृद्धका रूपमा गणना गरिएको पाइन्छ ।
राज्यको कर्तव्य भनेको हरेक नागरिकको सम्मान र संरक्षण गर्ने हो तर व्यवहारमा यसो हुन सकिरहेको देखिँदैन । वृद्धका लागि सरकारले प्रत्येक जिल्लामा सुविधायुक्त वृद्धाश्रमको व्यवस्था गरिदिनु पर्छ । वृद्धवृद्धा मानसिक शान्तिका लागि मन्दिर जाने, भजनकीर्तन गर्ने र आफ्नो अनुभव साटासाट गर्न रुचाउने गर्दछन् । घरमा समय बिताउने मानिस नहुँदा पनि उनीहरू बाध्य भएर आफ्ना दौँतरीकहाँ, चौतारी, पाटीमा जमघट भएर गफ गर्ने, धार्मिक कार्यमा संलग्न हुन बाध्य हुनु पर्छ ।
सहर बजारमा वल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैनन् । यो यति मात्र नभएर एउटै घरमा कोठा लिएर बसेका मानिसको समेत एकआपसमा भेटघाट र कुराकानी गर्ने मौका मिल्दैन । यसैले सहरमा नै बस्ने वृद्धलाई दिन बिताउन गाह्रो हुन्छ । काम गरेर समय बिताऔँ भने सकिँदैन, दिनभरि त्यसै बस्न मनले मान्दैन । त्यसैले मन्दिरतिर गएर पुराण सुन्ने, भजनकीर्तन र आफू जस्तै वृद्धकहाँ गएर समय बिताउने गर्दछन् ।
वृद्धवृद्धा अनुभवले खारिँदै र जीवनका विभिन्न कठिनाइ, आरोह, अवरोह पार गर्दै वृद्धावस्थामा पुगेका हुन्छन् । जीवन र जगत्का हरेक अप्ठ्यारा पार लगाउन सक्ने क्षमता उनीहरूमा हुन्छ भन्ने हेक्का हामीले राख्नु पर्छ । हामीले उनीहरूको अनुभव र सिपको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्नु पर्छ । भाइबहिनीहरू, हामीले वृद्धवृद्धालाई हेला र दुव्र्यवहार होइन माया, ममता र स्नेहको अँगालोमा बाँध्नु पर्दछ । वृद्धवृद्धा कसैका दयाका पात्र होइनन्, उनीहरूलाई बोझ र भार नठानी हाम्रो भाग्य ठानौँ ।