धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ६ गते । सप्तरीका गाईवस्तु पालक कृषकले गाईवस्तुलाई खेलाउने खेल हुराहुररीलाई जीवन्तता दिएको छ । पछिल्लो समय एकअर्काको गाई, गोरु, भैंँसी
गोबर्धन पूजाका दिन अपराह्न सार्वजनिक खुला चौरमा खेलाउने यो खेलप्रति कृषकको चाँसो र संस्कृतिलाई संरक्षण गर्न तथा पुस्तान्तरण गराउन पनि खेलाएको हो । गोबर, गाई, धूप र ढोलको गन्ध मिसिएको वातावरणमा गाउँले कृषकहरू वर्षको सबैभन्दा रमाइलो पर्वमध्ये एक “गोवर्धन पूजा” मनाउँदै आएका छन् ।
यस दिन बिहान गाईबस्तुलाई नुहाइधुवाइ गरेर गोठ सफा गरी तेल, मरिच, काउँवा, हल्दी र अन्य परिकार खुवाएर गाईबस्तुलाई रङ्गीचङ्गी सजाउँने गरेको फर्सैठका कृषक देवनारायण यादवले जानकारी दिनुभयो। नयाँ डोरी, गर्दामी र घुघुर (घण्टी) लगाएर रङ्गीचङ्गी बनाइएका गाईगोरुहरूलाई देवताको स्वरूप नै मानेर पूजा गरिन्छ, उहाँले भन्नुभयो।
गोबर्धन पूजाका दिन गोठमा गोबरको “गोवर्धन पर्वत” बनाएर महिलाहरू विधिपूर्वक पूजा गरेपछि गाई, गोरु, भैंसीलाई हुराहुररी खेल लगिने गरेको अर्का किसान भोला यादवले जानकारी दिनुभयो।
मध्यान्हतिर गाउँकै सार्वजनिक चौरमा बस्तीका सबै कृषकहरू आफ्नो गाई–भैँसी लिएर भेला हुन्छन्। त्यहाँ प्रतिस्पर्धा सुरु हुन्छ, गाई–भैँसीको भिडन्त। जितेको जनावरका मालिकलाई स्थानीय पुरस्कृत पनि गर्छन्। सप्तरीका कृषक योगेन्द्रप्रसाद साह भन्छन्, “यो परम्परा हाम्रो पुर्खाले सुरु गरेको हो, यसले गाईबस्तुको शक्ति र गर्व देखाउँछ।”
सबैभन्दा रोचक र अनौठो दृश्य भने “भैँसी र सुँगुर” बिचको परम्परागत खेल हो। सुँगुरको पाठोलाई डोरीमा बाँधेर भैँसी अगाडि राखिन्छ। जब भैँसी उत्तेजित हुन्छ, त्यो सुँगुरतर्फ दौडिन्छ र सिंहले हिर्काएर आक्रमण गर्न खोज्छ। जसको भैँसीले सुँगुरलाई परास्त गर्छ, त्यो किसानलाई विशेष पुरस्कार दिइन्छ। यो दृश्य हेर्दा गाउँका बालबालिका, वृद्ध र महिलासम्म चिच्याउँदै उत्साहित हुन्छन्।
हुराहुररी जनावरको मात्र होइन, कृषक बलको पनि परीक्षा हुन्छ। युवाहरू बिच कुस्ती प्रतियोगिता आयोजना गरिन्छ। धुलोले ढाकिएको चौरमा कुस्ती खेल्ने युवाहरूलाई गाउँका वृद्धहरूले टपरी हल्लाएर उत्साह दिँदै जोर जोरले कराउँदै भन्छन् “ल ल, साहस देखा नाति, गाउँको इज्जत तेरै काँधमा छ।”
गोवर्धन पूजा धार्मिक विधि मात्र होइन, यसले कृषक जीवन, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छ। गोबर, गाई र माटोको पूजा गरेर गाउँलेहरू प्रकृतिसँग सन्तुलनमा बस्ने सन्देश दिने गरेको पण्डित बद्रीनारायण झा भन्छन्, “गोवर्धन पूजा हाम्रो संस्कार हो । यो भगवानको आराधना मात्र होइन, हाम्रो श्रम, माटो र पशुप्रतिको सम्मान हो।”