किशोरावस्थालाई आँधीबेहरीको समय भनिन्छ । व्यक्तिले आफ्नो परिचय खोज्ने समय पनि किशोरावस्था नै हो । यतिखेर किशोरकिशोरी आमाबुबा, घरपरिवार र नातेदारभन्दा साथीसङ्गतिसँग सम्पर्क राख्न चाहन्छन् । व्यक्ति एक्लै हुँदा सोच्ने तरिका, काम र देखाउने व्यवहारभन्दा समूहमा हुँदा गर्ने काम र व्यवहार नितान्त फरक हुने गर्छ । यसको तात्पर्य किशोरावस्थामा व्यक्ति आफू स्वयम्ले विवेक लगाएर सही वा गलत छुट्याउनुभन्दा आफ्नो सम्पर्कमा भएका र आफूले विश्वास गर्ने आफ्नै उमेरका साथीहरूका कुरामा बढी विश्वास गर्छन् । उनीहरू आफूभन्दा ठुला व्यक्तिका कुरा सुन्न चाहँदैनन् । आफ्नै परिवारका सदस्य र अभिभावकसमेतलाई आफ्नो समय, आकाङ्क्षा र चाहनालाई बुझ्न नसक्ने व्यक्तिका रूपमा हेर्ने गर्छन् ।
सामाजिक प्राणी भएकाले मानिस जस्तो सङ्गतमा भयो उस्तै व्यक्तित्व निर्माण गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपले उत्प्रेरित भएको हुन्छ भने किशोरावस्थामा त झनै साथीहरूको व्यवहार र क्रियाकलापको हरेक व्यक्तिमा गहिरो छाप परेको हुन्छ । साथीको दबाबस्वरूप उनीहरूले अनैतिक, अव्यावहारिक र असामाजिक हो भन्ने जान्दाजान्दै पनि केही काम गर्नबाट आफूलाई जोगाउन सक्दैनन् । यसैले किशोरावस्था स्वयम्मा व्यक्तित्वको अभाव खड्किएको, आत्मपहिचान खोज्दै गरेको, समस्या र अविश्वासले ग्रस्त समय मानिन्छ । सङ्गत अनुसार नै आचरण र व्यवहार विकास हुने भएकाले पौरस्त्य आचारसंहितामा सन्तान १६ वर्षका हुन्जेलसम्म गुरु र परिवारको सन्निकटमा राखी असल आचार, विचार र व्यवहार सिकाउनु पर्छ भन्ने मत अगाडि सारिएको देखिन्छ । यसै समयमा सिकेको अनुशासनले व्यक्तिमा आत्मविश्वास, आत्मगौरव र आफन्तप्रतिको अपनत्वको भावना बढाउन सहयोग गर्छ । यी सम्पूर्ण कुरा हुँदाहुँदै पनि किशोरावस्था देखासिकी गर्ने र समूहको मनोविज्ञान अनुसार चल्ने समय हो भन्ने कुरालाई बिर्सनु हुँदैन ।
पछिल्लो समय नगर तथा सहरी क्षेत्रमा विद्यालय तहमा अध्ययन गर्ने किशोरकिशोरीमा धूमपानको लत बढ्दै गएको देखिन्छ । १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीले लुकिछिपी चुरोट र भेप ताने पनि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले आफूलाई पूर्ण रूपमा स्वतन्त्र ठानी समूहमा धूमपान गर्ने कार्यलाई संस्कृतिकै रूपमा विकास गर्दै लगेको देखिन्छ । काठमाडौँ महानगर अन्तर्गत धेरै विद्यालय भएका क्षेत्र बागबजार, डिल्लीबजार, कोटेश्वर र ललितपुरका जाउलाखेल, महालक्ष्मीस्थानलगायतका क्षेत्रमा कलेजनजिकै किशोर किशोरीलक्षित क्याफे तथा धूमपान गराउने पसलहरू सञ्चालनमा रहेका छन् । कलेज सुरू हुनुभन्दा अगाडि र पढाइ सकिएपछि यस्ता पसलमा किशोरकिशोरीको भिड लाग्ने गरेको देखिन्छ ।
किशोरकिशोरीमा अरूले दिएको अर्ती एवं नैतिक मूल्यभन्दा आफैँले परीक्षण र अनुभव गरी वास्तविकता जान्ने कौतूहलता रहेको हुन्छ । जिज्ञासु र अनुभवबाट ज्ञान हासिल गर्ने प्रवृत्तिका कारण उनीहरू चुरोट र भेपका आकर्षक प्रचारबाट तुरुन्तै लोभिन्छन् । केही समयको अनुभवबाट उनीहरूमा लतको विकास हुन्छ जसबाट उनीहरू चाहेरै पनि छुटकारा पाउन सक्दैनन् । समूहमा बसेर चुरोटको खिल्ली च्यापेर गफ गर्दा आफूमा उच्चताग्रन्थी (सुपेरियर कम्प्लेक्स) हावी भएको महसुस हुने कुरा किशोरकिशोरी बताउँछन् । केही समयअघि रेस्टुरेन्ट र बारमा हुक्कामा समेत किशोरकिशोरी झुम्मिने गर्थे । विगत चार पाँच वर्षमा किशोरकिशोरीको धूमपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने हुक्कालाई भेपले प्रतिस्थापन गरेको देखिन्छ । १५ सयदेखि १०/१५ हजारमा उपलब्ध हुने भेप किशोरकिशोरीलाई धूमपानमा लत बसाउने मुख्य साधनका रूपमा रहेको छ । आकर्षक मोडेलमा उपलब्ध हुने भेपको सकारात्मक प्रचारप्रसार र यसमा रहेको सुगन्धले भेपको बजार विस्तार भएको छ । विद्यार्थीले खाजा खर्चबाट पैसा बचाएरसमेत भेप किन्ने प्रवृत्ति एकातिर विकास भएको देखिन्छ भने अर्कातिर चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दा चिन्तित हुने अभिभावक भेपको लतप्रति भने उति गम्भीर देखिँदैनन् ।
व्यापारीको चङ्गुलमा परी भेपको लत लागेका विद्यार्थीले आफू मात्र यसको सेवन गर्दैनन् आफ्नो समूह र नयाँ किशोरकिशोरीलाई समेत भेप सेवन गर्न आकर्षित गर्ने गर्छन् । माथिल्लो तहका विद्यार्थीले तल्लो तहका विद्यार्थीलाई निश्चित सङ्ख्यामा भेप बेच्न बाध्य पारेका तथा विद्यालयको वार्षिकोत्सवमा पूर्वविद्यार्थीले भेप बेचेका घटनाले किशोरकिशारी मात्र नभएर कलिला बालबालिकासमेत कुलतको सिकार बन्न सक्ने भय बढेको छ ।
बोक्न सजिलो र प्रयोग गर्नसमेत सहज हुने भएकाले चुरोट र हुक्काभन्दा पछिल्लो समय भेप नै बढी बिक्री हुने व्यवसायी बताउँछन् । खुला सीमाका कारण वैध र अवैध मार्गबाट नेपाली बजारमा भेप उपलब्ध हुने गरेको छ । हाम्रो बजारमा उपलब्ध हुने भेप चुरोटको नसा छुटाउने औषधीका रूपमा समेत प्रयोग हुने गरेको पाइएको छ । नसा र लत छुटाउने भन्दै भेप सेवन गर्न लगाउने समूहसमेत सक्रिय देखिन्छन् । केही समय अगाडिसम्म ‘थाहै नदिई नसा छुटाउने’ जस्ता आकर्षक विज्ञापन गर्ने यस्ता समूहले सामाजिक सञ्जालमार्फत सुर्तीजन्य चुरोट तथा भेपको प्रचारप्रसार गर्ने गरेका छन् ।
दस कक्षापछिको अध्ययनलाई बढी स्वतन्त्र मानिँदै आएको हाम्रो समाजमा खास गरी सहरी क्षेत्रमा किशोरकिशोरीलाई अभिभावकले समेत खासै परामर्श गर्न सकेको देखिँदैन बरु उनीहरूले गरेका काम आफूलाई चित्त नबुझे पनि बोलीबाट ठिकै त छ नि भन्ने अभिव्यक्ति दिने गरेका छन् । विद्यालय/कलेजसँगै जोडिएका क्याफ्टेरिया र तिनमा उपलब्ध हुने चुरोट तथा भेपले किशोरकिशोरीमा धूमपानको लत बसाउन भूमिका खेलेको छ ।
डरलाग्दो अवस्था त कहाँ देखिन्छ भने विद्यालय/कलेज पोसाकमै किशोरकिशोरी बस स्टेसन, चोक र सडक आसपासमा चुरोट तथा भेपमा झुम्मिएका भेटिन्छन् । यीमध्ये केही किशोरकिशोरी चुरोट, भेप हुँदै अन्य नसालु लागु पदार्थको कुलतमा समेत फसिरहेका देखिन्छन । पछिल्लो समय पुनस्र्थापना केन्द्र र मानसिक अस्पतालमा यस्तै कुलतमा परेका किशोर किशोरीहरू पुग्ने क्रम बढ्दै गएको छ । घर परिवारबाट पूर्ण रूपमा स्वच्छन्द, सहरी वातावरणले सामाजिक र नैतिक छेकबार नलागेका, खानपान र व्यवहारका बारेमा कडाइ गरे विद्यार्थीकै सङ्ख्या कम हुने भएकाले विद्यालय तथा कलेजले समेत आँखा चिम्लिने प्रवृत्तिले भेप सेवन गर्ने किशोरकिशोरीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । विदेशबाट भित्रिने भेप अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा दिनानुदिन पक्राउ पर्ने र बरामद हुने गरेका घटनाले पनि भेपको सञ्जाल निकै विस्तार भइसकेको अनुमान गर्न सकिन्छ ।
किशोरकिशोरी लहड र लगावका कारण कुलतमा नफसुन् भन्ने दिशामा सर्वप्रथम अभिभावक सचेत हुनु पर्छ । कुनै पनि किशोरकिशोरी कुलतको सिकार हुनु भनेको राष्ट्रकै लागि चिन्ताको विषय भएकाले सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकारले मन्दविषका रूपमा फैलिएको धूमपान प्रवृत्तिलाई निरूत्साहित गर्न आवश्यक कानुनी व्यवस्था र अनुगमनको प्रबन्ध गर्नु पर्छ । कम्तीमा विद्यालयनजिक र विद्यालय पोसाकमा यस प्रकारका वस्तु किनबेच गर्न निषेध गर्ने हो भने पनि धूमपानको दुश्चक्रमा फस्ने किशोरकिशोरीको सङ्ख्या न्यूनीकरण गर्न सकिन्छ । पालिका र नेपाल प्रहरीको सहकार्यमा हुने गरेको विद्यार्थीसँग प्रहरी कार्यक्रमलाई अझै प्रभावकारी बनाउने, लागुपदार्थ र यसले व्यक्ति एवं समाजमा पु¥याउने क्षतिका बारेमा सचेत गराउने क्रियाकलाप सञ्चालन हुनु आवश्यक छ । हरेक विद्यालय आफ्ना विद्यार्थी यस्ता खराब सङ्गतमा लागेका छन् वा छैनन् भन्ने कुरामा सजग रहनु पर्छ । अभिभावक र विद्यालय मात्र नभएर स्वस्थ भावी पुस्ता विकास गर्ने जिम्मेवारी समग्र समाज एवं राष्ट्रको नै भएकाले यस प्रकारको विकृति रोक्नु हामी सबैको कर्तव्य हो । समाजमा फैलिएको यस प्रकारको धूमपान प्रवृत्तिले अन्ततः किशोरकिशोरीलाई कठोर किसिमका लागुऔषध दुव्र्यसनतर्फ धकेल्ने भएकाले हामी सबैले समयमै सचेतना अपनाउनु आवश्यक छ ।