• १७ असार २०८१, सोमबार

दोहोरो नागरिकताको आरोपमा पक्राउ

blog

बनेपा, असार ५ गते  । झुटाे विवरण पेस गरी दोहोरो नागरिकता प्रमाणपत्र लिने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा झुटाे विवरण पेस गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका–३ की ३९ वर्षीया सुनीता गिरी र ३६ वर्षीय राजु गिरी छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो । 

रामेछाप जिल्ला चुचुरे–२ घर भई हाल काभ्रेको भुम्लु गाउँपालिका–३ बस्ने रमेशराज गिरीकी श्रीमती सुनीताले श्रीमानको ठेगाना चौँरीदेउराली गाउँपालिका–५ उल्लेख गरी पहिलो पटक २०६९ साउन ८ गते नागरिकता प्रमाणपत्र लिनुभएको थियो । उहाँले दोस्रो पटक आफ्नो ठेगाना भुम्लु गाउँपालिका–३ जनाई आफ्नो नाम देवी खड्का खत्री उल्लेख गरी राजु खत्री (दोस्रो श्रीमान्)को सनाखतमा २०७५ मङ्सिर २६ गते दोस्रो नागरिकता लिनुभएको जनाइएको छ । 

पहिलो नागरिकता बदर गर्नका लागि शुक्रबार कार्यालयमा आउनुभएकी सुनीता र राजुलाई दोहोरो नागरिकता लिएको भन्दै पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । 

सुनीताले दोहोरो नागरिकता लिएको र राजुले यसअघि नागरिकता नलिएको भन्दै सनाखत गरेकोमा दुवैलाई पक्राउ गरिएको हो । सुनीताको दोस्रो नागरिकता रद्द गरिएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिनुभयो । उहाँले सुनीताको पहिलो नागरिकताको समेत छानबिन हुने बताउनुभयो ।