• ८ मंसिर २०८१, शनिबार

‘जय नेपाल’ किन सबैको हुन सकेन ?

blog

जहानियाँ राणा शासनबाट त्राण पाउन आफ्नो जीवन उत्सर्ग गर्ने राणाकालका चार महान् शहीदमध्ये शुक्रराज शास्त्री र दशरथ चन्दले अभिवादनका रूपमा ‘जय नेपाल’लाई आफ्नो मूल मन्त्र मानी उच्चारण गर्न थाल्नुभएको थियो । वि.सं. १९९७ साल माघ ६ गते शुक्रराजलाई सर्वस्व हरणसहित फाँसीको सजाय घोषणा गरियो । फैसला सुनाइसकेपछि राणाहरूले उहाँलाई “तिम्रो अन्तिम इच्छा के छ ?” भनी सोध्दा शुक्रराजले ‘जय नेपाल’ मात्र उच्चारण गर्नुभएको थियो । राणाहरूले सोही प्रश्न दोहो-याएर सोध्दा पनि शुक्रराजले पुनः ‘जय नेपाल’ भन्नुभएको थियो । 

यस प्रकार हाम्रा राणाकालीन अमर शहीदले ‘जय नेपाल’को परम्परा प्रारम्भ गर्नुभएको हो । १२ माघ २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो र सोही दिन चार महान् शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘जय नेपाल’लाई अभिवादन शब्द मान्ने विधिवत् थालनी गरेको पाइन्छ । २००७ सालको क्रान्तिमा जय नेपाललाई क्रान्ति घोष वा युद्ध घोषका रूपमा अङ्गीकार गरियो, जसलाई अङ्ग्रेजीमा ‘ब्याटल क्राई’ भनिन्छ । ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतका रचनाकार आधुनिक कवि गोपालप्रसाद रिमाल नै नेपालमा जय नेपाललाई अभिवादनका रूपमा प्रचलनमा ल्याउने पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

जसका लागि उहाँले अभियानसमेत चलाउनुभएको थियो । २००७ सालको क्रान्तिको अन्त्यतिर राजा त्रिभुवनले अल इन्डिया रेडियो र नेपाल प्रजातन्त्र रेडियो (जसलाई पछि रेडियो नेपाल नामकरण गरियो)बाट देशवासीका नाममा सन्देश दिनुभएको थियो, जसको अत्यमा ‘जय नेपाल’ अभिवादन रहेको थियो । रेडियो नेपालको प्रसारणको आरम्भ र समापन यही राष्ट्रभक्ति दर्शाउने अभिवादन शब्द ‘जय नेपाल’बाट नै हुने गरेको छ ।

२००७ सालको क्रान्ति सम्पन्न भएपछि कांग्रेस नेतृत्वको मुक्ति सेना नेपाल प्रहरीमा समायोजन भएपछि नेपाल प्रहरीको अभिवादन शब्द जय नेपाल निर्धारण भएको पाइन्छ । पहिलो जनक्रान्ति सम्पन्न भएपछि जय नेपाल क्रमशः राष्ट्रका महìवपूर्ण संस्थाबाट देशभरि प्रचलनमा आयो । यद्यपि काठमाडौँ उपत्यका मात्र नेपाल हो भनी ठान्ने ठूलो जमात छ र जनस्तरको उक्त सोचाइलाई मेटाएर मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म नेपाल हो र यहाँ बसोवास गरेका सबै नेपाली हुन् भन्ने राष्ट्रिय भावना यही ‘जय नेपाल’ भन्ने अभिवादन शब्दले फैलाउन मद्दत गरेको हो ।

किन अपनाइएन ?

जय नेपाललाई तत्कालीन राज्य शक्तिले राष्ट्रिय नारा वा राष्ट्रिय अभिवादनका रूपमा स्वीकार गर्न सकेन । त्यसका अनेक कारण होलान् तर सामान्य विश्लेषण गर्दा तल उल्लिखित कारण पनि तर्कसङ्गत नै लाग्छन् :

समायोजित विद्रोही फौज

यद्यपि जहानियाँ राणा शासनको अन्त्य राजा र क्रान्तिकारी शक्ति मिलेर नै भएको थियो तर राजसंस्थाले आफ्नो शक्ति घटेको महसुस गरेको हुँदा आफूलाई सुरक्षित महसुस गरेन । विद्रोही फौज नेपाल प्रहरीमा समायोजन भई नेपाल प्रहरीको अभिवादन शब्द नै परिवर्तन भएर ‘जय नेपाल’ भएको हुँदा आफ्नो मातहत रहेको तत्कालीन शाही सेनालाई त्यसको प्रभावबाट मुक्त राख्न र सेना राजाको शक्ति हो भनी सेनाको मनोविज्ञान प्रभावित गर्न तथा आफ्नो भक्तिमा समर्पित गराई राख्न कुनै पनि परिवर्तन गरिएन । साथै समायोजित प्रहरीको राजसंस्थाबाट पूर्ण रूपमा अपनत्व ग्रहण गरिएन र कम विश्वास गरिएको संस्थाका रूपमा रहिरह्यो । साथै कुनै पनि अन्य सरकारी संस्थामा र सर्वसाधारणलाई समेत जय नेपालको प्रभावबाट मुक्त राख्ने प्रयास गरियो ।

उर्दु भाषाको प्रभाव

राजदरबारको दरबारिया भाषा र अदालतको भाषामा मुगल दरबारको उर्दु र अरबिक भाषाको प्रभाव परेको थियो । तत्कालीन सरकारी लेखापढीका दस्तावेजमा उर्दु र अरेबिक भाषाको प्रभाव रहेको यथेष्ट प्रमाण पाइन्छन् । अदब, दर्शन, सलाम, तामेल, सामेल, फैसला, तारिख आदि सबै उर्दु-अरेबिक शब्द अद्यपि प्रयोगमा रहेका छन् । पुरानो परम्परालाई छाड्न र नयाँलाई अङ्गीकार गर्न ठूलो त्याग, समर्पण, साहस वा दृढ इच्छाशक्तिको जरुरत पर्दछ वा आमूल परिवर्तन गर्न ठूलो क्रान्तिको जरुरत पर्दछ । २००७ सालको क्रान्ति सफल भए पनि सम्झौतामार्फत समाधान निकालिएको थियो ।

सम्झौतामा दुवै पक्षको कुरा समेटिएको हुन्छ र दुवै पक्षका तुसहरू पूर्ण रूपमा फालिएको हुँदैन । मौका पाउनासाथ एक पक्षले आफ्नो पूर्वाग्रह स्थापित गर्ने कोसिस गर्दछन् । दर्शन र सलामको परम्परालाई चटक्क छोडेर जय नेपाललाई ग्रहण गर्न नसक्नु पनि त्यही प्रभाव हुन सक्छ । माओवादीको कथित ‘जनयुद्ध’ पनि सम्झौतामा टुङ्गिएको हुँदा हामीले कुनै परिवर्तन गर्न सकेनौँ भन्ने स्वीकारोक्ति माओवादीका शीर्षस्थ नेताहरूले बताउने गरेको जगजाहेरै छ ।

जय नेपालको राजनीतीकरण 

नेपालमा विपक्षीलाई दबाउन जनमानसमा उसको विरुद्धमा नकारात्मकता फैलाउन सकेमा युद्ध जितिन्छ वा अभियानमा सफलता पाइन्छ भन्ने मानसिकता छ । २००७ सालको प्रजातन्त्र प्राप्तिपश्चात् २०१७ सालसम्म नेपालमा राजनीतिक अस्थिरता रहिरह्यो । राजसंस्था बढी शक्तिशाली थियो र राजसंस्थाको छत्रछायाँमा राज गर्न चाहने शक्तिले विरोधी शक्तिको विरुद्धमा नकारात्मकता फैलाउने यथासम्भव कोसिस ग-यो । फलस्वरूप क्रान्तिबाट स्थापित र जनअनुमोदित शक्तिले प्रयोग गर्ने अभिवादन शब्द ‘जय नेपाल’ नेपाली कांग्रेसको हो, कांग्रेसबाहेक अन्यले यसको प्रयोग गर्नु हुँदैन भन्ने कथ्य विकास गरिएको हुँदा जय नेपालले सबै जनताको प्रेम पाउन सकेन र कित्ताकाटमा परी नै रह्यो । २०७६ सालमा गोकुल बाँस्कोटा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता भएको समयमा समेत राजाले प्रयोग गरेको शब्द ‘जय नेपाल’ कांग्रेसले किन बोकेको भनी टिप्पणी गर्नुभएको थियो ।

स्वामित्वको कुरा

२००७ सालको सफल क्रान्तिपश्चात् आफैँले सुरुवात गरेको भए जय नेपालको स्वामित्व लिन कुनै आपत्ति हुने थिएन । विद्रोही र क्रान्तिकारी शक्तिबाट सर्वप्रथम प्रयोगमा ल्याइएको शब्द भएकाले अन्य विपक्षी र चाकडीबाजहरूले जय नेपाल शब्दलाई घृणा गरी नै रहे ।

पहिचान गुम्छ कि भन्ने डर

२०४६ सालको जनान्दोलनपश्चात् जनताले खुलेर बोल्न पाएका हुन् । विभिन्न राजनीतिक दलले आफ्ना गतिविधि खुला रूपले गर्न पाएका हुन् । नेपालमा आफूलाई राष्ट्रवादी र विपक्षीलाई विदेशीको गुलाम भन्ने आरोप÷प्रत्यारोप गर्ने पुरानो चलन हो । राष्ट्रवादी शक्ति कहलाउने चाहना कुन चाहिँ दलको नहोला र ? जय नेपाल भन्ने चाहना हुँदाहुँदै पनि आफ्नो पहिचान गुम्छ कि भन्ने डरले नेपाली कांग्रेसबाहेकका अन्य क्रियाशील दलले उक्त शब्द ग्रहण र प्रयोग गर्न हिच्किचाएको हुनुपर्छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाहेकका अन्य सङ्गठित संस्था पनि सोही मानसिकताको सिकार भएको हुनुपर्छ ।

देशभन्दा माथि विचार

राजसंस्थालाई वर्तमान समयमा आफूलाई क्रान्तिकारी भन्न रुचाउने विभिन्न दलले जति गाली गरे पनि यो देश राजसंस्थाबाट नै निर्माण भएको हो । राष्ट्रपिता पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई उनका वंशजले नै पूर्णता दिएर मात्र वर्तमान स्वतन्त्र राष्ट्र नेपालको निर्माण भएको हो । इतिहासदेखि आज पर्यन्त कसैको अधीनमा नरहेको विश्वको एक मात्र प्राचीन स्वतन्त्र देश नेपाल नै हो भन्दा अत्युक्ति नहोला । राजसंस्था नभएको भए शायद नेपाल भन्ने देश पनि रहन्नथ्यो होला ।

विभिन्न दलले समाजवाद, पुँजीवाद र साम्यवादको नाममा विभिन्न विचार त आयात गरे तर ती विचारलाई नेपालको सामाजिक, राजनीतिक परिवेशमा ढाल्न सकेनन् र असफल भई नै रहे । असफल हुनुको एक महìवपूर्ण पक्ष के हो भने तिनले देशभन्दा विचार माथि हो भन्ने ठाने र देशभन्दा बढी आफ्नो पार्टी र पार्टीभन्दा ठूलो गुट हो भनी अलमलमा परिरहे । देशको वास्तविक चित्र बनाउन असफल रहे, देशको माटो चिनेनन् र जनताको भावनासँग खेलबाड गरिरहे । त्यही मानसिकताले गर्दा राष्ट्रवाद झल्काउने शब्द जय नेपाल सधैँ ओझेलमा परिरह्यो । 

आफूलाई राष्ट्रवादी कहलाउन नेपालमा भएका सबै दल, सङ्घ, संस्था र समूहले राष्ट्रवादको नारा लगाए तर जय नेपाललाई प्रेम गर्न सकेनन् । जय नेपालको सट्टा जय देश भने, जय राष्ट्र भने, जय मातृभूमि भने र कसै कसैले जय नेपाल आमा पनि भने तर जय नेपालले बोक्ने सम्पूर्णता, सटिकता, गहनता र राष्ट्रप्रेम अन्य कुनै पनि शब्दले बोक्न सक्दैन ।

देशले अनेकौँ देश जनाउन सक्छ, राष्ट्रले अनेकौँ राष्ट्र जनाउन सक्छ, मातृभूमिले स्पष्ट अर्थ दिन सक्दैन र जय नेपाल आमाले सटिकता दिन सक्दैन । जय नेपाललाई कसैको पैतृक सम्पत्ति नठानी यो हाम्रो हो, यो नेपालको हो भन्ने कुरा मनन गर्दै सबै सङ्घ, संस्था, दल र समूहले अपनत्व र स्वामित्व ग्रहण गर्दै सम्पूर्ण राष्ट्रभक्त नेपालीले जय नेपाललाई नै राष्ट्रिय अभिवादनको शब्द बनाउनु उपयुक्त हुन्छ बाँकी जनता जनार्दनको तजबिज । 


Author

दीर्घबहादुर चन्द