• २५ असोज २०८२, शनिबार

एटिएमबाट निकाल्ने पैसाको सीमा घट्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते । एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट प्रतिकारोबार २५ हजार रुपियाँ झिक्न सकिन्छ । त्यसै गरी दैनिक एक लाख र मासिक चार लाख रुपियाँको सीमा तोकिएको छ । अब भने प्रतिकारोबार एटिएमबाट २० हजार, दैनिक ५० हजार र मासिक तीन लाख रुपियाँ मात्रै झिक्न सकिने छ ।

बैङ्क तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँको सीमा यथावत रहेको छ ।

त्यसै गरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन भएको छैन । बैङ्क तथा वित्तीय संस्थाबाहेकका सेवाप्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिदिन पाँच हजार र प्रतिमहिना २५ हजार रुपियाँको सीमा पनि परिवर्तन भएको छैन ।