• १३ असार २०८१, बिहिबार

गोरखापत्रका प्रकाशनहरु खोज पत्रकारितामा केन्द्रित हुनुपर्छ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३ गते । वरिष्ठ पत्रकारद्वय प्रकाश रिमाल र किरण नेपालले गोरखापत्र तथा दि राइजिङ नेपालसहित गोरखापत्र संस्थानका प्रकाशनहरू खोज पत्रकारितामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित सामग्री उत्पादनसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रममा शुक्रबार कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रिमालले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास र नवीनतम् प्रविधिको अधिकतम् प्रयोग गर्नुपर्ने बताउनुभयो । 

नेपाली सञ्चारमाध्यम पनि क्रमशः प्रविधिले सुसज्जित हुँदैगएको बताउँदै विश्वव्यापी लहरलाई समयानुकूल ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खोज पत्रकारिता केन्द्रका सम्पादक नेपालले भन्नुभयो, “गोरखापत्रले राजनीतिक मुद्दा मात्रै होइन, अब अझै सशक्तरूपमा खोज पत्रकारितामा जोड दिनुपर्छ ।” उहाँले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट सञ्चालित सञ्चारमाध्यममा बुलन्द खोजी रिपोर्टहरू प्रकाशित हुने बताउनुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानलाई नयाँ स्वरूपमा अघि बढाउन प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गरी योजना र बजेट निर्माणले गोरखापत्रलाई नवीन उचाइँ प्रदान गर्ने उदघोष गर्नुभयो । 

महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले वैधानिक समाचार प्रस्तुत गरिरहेको बताउँदै अब आलोचनात्मक समाचारलाई पनि अब प्राथमिकता दिने बताउनुभयो । गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत र राइजिङ नेपालका प्रबन्ध सम्पादक नारायण उपाध्यायले प्रविधिमैत्री गोरखापत्र निर्माणको अठोट व्यक्त गर्नुभयो ।