• ७ जेठ २०८१, सोमबार

उत्पादनका कार्यक्रमलाई अब प्राथमिकता : अध्यक्ष दाहाल

blog

भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा समवोधन गर्नुहुदै अध्यक्ष दाहाल । तस्विर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असार ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा  शुक्रबार उहाँले सो कुरा बताउनुभयो ।

“धुलोहिलो सडकबाट महानगरबासी मुक्त भएका छन् अब उत्पादनका कार्यक्रमलाई जोड दिन्छौं” उहाँले भन्नुभयो । चितवनलाई पहिलो प्राथमिकता भनेको भौतिक पुर्वाधार र यातायातलाई थियो, त्यो केही हदसम्म पूरा भएको उहाँको भनाई छ । 

“काम अझै बाकी छ तर धेरै भएको छ । अबको प्राथमिकता भनेको उत्पादन र सामाजिक सुरक्षा हो” अध्यक्ष दाहालले थप्नुभयो, “अब उत्पादन सँगै रोजगारी सृष्टि गर्नुपर्छ, भौतिक पूर्वाधार केही समयको लागि मात्र हो लामो समय भनेको उत्पादनलाई दिने हो । जनताले चाहेको पनि यही हो ।”

निर्वाचन क्षेत्रमा आउँदा आफूले सपना बोकेर आएको उहाँले बताउनुभयो ।  “जनप्रतिनिधि हुन मात्र म आएको होइन, यहाँको विकासले देशलाई चिनाउन सकोस् भन्ने मेरो चाहना हो” अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रिय दायित्व मैले बोकेको छु । नवलपुर, चितवन र मकवानपुरलाई जोडेर बृहत्तर विकासलाई योजना निर्माण गर्दैछौं । अझै केही वर्ष चितवनको विकासमा म सक्रिय भएर काम गर्ने इच्छा छ ।”

चितवनका जनताको सुझावलाई आत्मसाथ गर्ने प्रतिवद्धता पनि उहाँले गर्नुभयो । राम्रा सुझावलाई आत्मासाथ गरेर अगाडि बढ्ने उहाँले चर्चा गर्नुभयो । बिगतले धेरै पाठ सिकाएको छ, त्यसैले आउँदा दिनमा गल्ती सच्याएर जाने प्रण गर्दछौं उहाँले भन्नुभयो । केन्द्रदेखि स्थानीय तहसम्मका नेताले जनताको घरमा गएर सुझाब सल्लाह लिन सक्नुपर्ने उहाँको भनाई छ ।