• १३ असोज २०८१, आइतबार

खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक भएर लगाउन आग्रह

blog

काठमाडौं, असार ३ गते । बालबालिकाहरुलाई लगाइन कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकोले निर्धक भएको खोप लगाउन जनस्वास्थ्य विज्ञको आग्रह छ । 

स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको “कोभिडविरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रणसम्बन्धी अन्तरक्रिया” कार्यक्रममा बोल्दै परिवारकल्याण महाशाखाका जनस्वास्थ्य विज्ञ डा. सञ्जयकुमार महासेठले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “सरकारले ५ देखि १२ वर्ष मुनिका बालबालिकाहरुले लगाउने कोरोनाविरुद्धको खोप ९१ प्रतिशतसम्म सुरक्षित रहेको अध्ययनले देखाएका कारण निर्धक भएर बालबालिकालाई खोप लगाउन लैजान अभिभावकलाई आग्रह गर्दछु ।”

खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिकाका लागि खोप दिने प्रक्रिया अगाडि बढेको हो । 

उहाँका अनुसार खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि सूचीकृत गर्नुका साथै नेपालमा प्रयोग गर्न औषधि व्यवस्था विभागले अनुमति प्रदान गरिसकेको छ । 

सरकारले ५ वर्षदेखि १२ मुनिका बालबालिकालाई असार ९ गतेबाट दुई चरणमा ३९ लाख बालबालिकालाई खोप अभियान सञ्चालन गर्न लागेको हो ।  

पहिलो चरणमा २७ जिल्लामा खोप अभियान
महासेठ अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप लगाउने जानकारी दिनुभयो ।

प्रदेश १ मा झापा, इलाम, सुनसरी, मोरङ गरी चार जिल्लामा र मधेश प्रदेशका सप्तरी, सिराहा, धनुष, महोत्तरी, पर्सा गरी पाँच जिल्ला खोप अभियान सञ्चालन हुने छ ।

यसैगरी, बाग्मती प्रदेशममा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक,  ललितपुर गरी सात जिल्लामा र गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्लामा सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला छन् । कर्णली प्रदेशका सुर्खेत रहेका छन् र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी  तीन जिल्लामा बालबालिकालाई खोप दिइँदै छ । 

सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ । 

बाँकी रहेका ५० वटा जिल्लामा भने भदै ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदै २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्न परिवारकल्ण महाशाखाले जनाएको छ । 

बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।

खोप कसले नलगाउने
पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकाले पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट पज्मा उपचारमा बस्नुभएका बिरामीलाई खोप नलगाउन चिकित्सकको आग्रह छ ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा खोप आउने स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।