• १६ भदौ २०८१, आइतबार

नेपाल र रसियाका खेलकुद मन्त्रीबिच भेटवार्ता

blog

खेलकुद मन्त्री अथक र रसियाका खेलकुद मन्त्री भासिलिभिचबिचको भेटबार्ता

रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाण्डौं, असार २ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गर्नुभएको छ । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहनुभएका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । 

भ्रमणको दोस्रो दिन मन्त्री अथकसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । छलफल पश्चात नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान(प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोग लगाएत विषय समेटीएको “रसिया(नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्नुभएको होे । 

सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताउनुभएको थियो । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।


मन्त्री अथकले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गर्नुभएको थियो । साथै मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारीक निमन्त्रणा समेत दिनुभएको छ ।

उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारीत हुने बताउनुभयो ।

यसैबिच नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिनुभयो । छलफलमा अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पुर्वाधार, बक्सिङ एमेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।

मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहनुभएका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।