• ७ जेठ २०८१, सोमबार

सेवाग्राहीको भीड अव्यवस्थित

blog

ललिता साह 

बोदेबर्साइन (सप्तरी), असार २ गते । जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार स्थानीय तहको निर्वाचन घोषणा भएसँगै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बने र पञ्जीकरण काममध्ये नागरिकता सिफारिस रोकिएकोले नियमले तोकिएको कागजात नै नपुग्ने भयो ।

योसँगै भर्खरै यस वर्षको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीले उच्च शिक्षाको लागि विभिन्न ठाउँमा आवेदन गर्नुपर्ने आवश्यकताले नागरिकता लिन आउने युवाको भीड लागेको छ । त्यस्तै निर्वाचनको कारण वैदेशिक रोजगारीमा जान रोकिएका युवा पुनः विदेश जान थालेकोले पनि नागरिकता र राहदानी बनाउने सेवाग्राही थपिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

प्रजिअ गौतम भन्नुहुन्छ, स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै वडा स्तरसम्म नयाँ जनप्रतिनिधि आए । योसँगै नागरिकका मौलिक अधिकारअन्तर्गत पर्ने पञ्जीकरणका सम्पूर्ण अधिकार र नागरिकता सिफारिसलगायतका काम सुरूभएको छ । यसर्थ यो साताबाट नयाँ, प्रतिलिपि, अङ्गिकृत नागरिकता र पासपोर्ट बनाउनको लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकको घुइँचो लागेको हो ।

दुई महिना अघिसम्म दैनिक ३० देखि ४० वटा नागरिकता हस्ताक्षर गरेर प्रदान गर्दै आए पनि एक हप्ता यता दैनिक एक सयदेखि डेढ सयवटा नयाँ नागरिकतामा हस्ताक्षर गरेर सेवाग्राहीलाई वितरण गर्दै आएको प्रशासकीय अधिकृत शिशिर घिमिरे बताउनुहुन्छ । 

यस्तै अर्का प्रशासकीय अधिकृत कल्पना मानन्धरका अनुसार प्रायः हप्तामा पाँचदेखि १० वटा अङ्गीकृत नागरिकता दिँंदै आए पनि अहिले दैनिक १०-२० वटासम्म बाँडिदै छन्  ।

छिन्नमस्ता गाउँपालिका–४ बाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय आउनुभएकी बिन्दुकुमारी यादव भन्नुहुन्छ, मैले तीन दिनदेखि नागरिकता लिन जिल्ला प्रशासन जिल्ला प्रशासनमा दिनभरी कुर्छु तर नागरिकता पाएकी छैन । आज दुई बजे बोलाउनुभएको छ तर चार बजेसम्म पनि हातमा नागरिकता परेको छैन । 

“यहाँ न लामको व्यवस्थापन छ न कुनै प्रणाली । चिनेकालाई छेउबाट छिटो काम गरिन्छ र सोझा साझा जनता दिनभरि बसे पनि काम नभई घर फर्केर जानु परेको अग्निसाइर कृष्णासवरन–५ बाट बुवाको नागरिकताको प्रतिलिपि लिन आउनुभएका युवा दीपक मेहताले गुनासो गर्नुभयो ।

सप्तरी जिल्ला प्रशासन सप्तरीमा सधैँ कर्मचारीको अभाव रहन्छ । नागरिकता फाँटमा हस्ताक्षर गर्ने दुई जना प्रशासकीय अधिकृत हुँदाहुँदै पनि कार्यालयमा कर्मचारी तथा प्रणाली व्यवस्थापन अस्तव्यस्तताका कारण नागरिकता लिन आएका सेवाग्राहीलाई सहज र छरितो तवरले सेवा दिन सकेको छैन ।