• ८ असार २०८२, आइतबार

एक वर्षमा ६७.१६ प्रतिशत मुद्दा फर्छ्यौट

blog

जिल्ला अदालत मुगुल । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 
मुगु, असार ८ गते ।
जिल्ला अदालत मुगुले आर्थिक वर्ष ०८१–०८२ मा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाएको छ ।  यस आर्थिक वर्षमा नयाँ दर्ता भएका एक सय एक थान र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ३३ थान मुद्दामध्ये ९० थान मुद्दा किनारा लागेका हुन् ।

नयाँ दर्ता हुने एक सय एक थान र जिम्मेवारी सरेका पुरानासहित ७५ प्रतिशत मुद्दा फर्छ्यौट हुने लक्ष्य राखिएकामा १०३.४५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत मुगुका तहसिलदार प्रेमराज खनियाले बताउनुभयो ।

‘‘अदालतमा अब १८ महिनाभन्दा पुराना मुद्दा बाँकी छैनन्,’’ खनियाले भन्नुभयो, ‘‘जिल्ला अदाततमा सबैभन्दा बढि ३० थान  सम्बन्ध विच्छेद त्यसैगरी जबरजस्ती करणी ८ थान र बैङकिङ्ग मुद्दा ८ थान दर्ता रहेकाछन् ।’’ उहाँले भन्नुभयो यो आर्थिक वर्षमा जम्मा एक सय ३४ थान मुद्दा दर्ता भएकोमा जेठ महिनासम्म ९० थान मुद्दा फर्छ्यौट  भएका छन् ।

जिल्ला अदालतका अनुसार गएको आर्थिक वर्षमा ५६ प्रतिशत मुद्दा फर्छ्यौट  भएका थिए । यो आर्थिक वर्षमा ६७.१६ प्रतिशत मुद्दा फैसला भएका छन् ।

जिल्ला अदालत मुगुमा दर्ता भएको सम्बन्ध विच्छेद ३० थान, जवरजस्ती करणी ८ थान, बैकिङ्ग कसुर ८ थान, चेक अनादर पाँच थान, लागुऔषध ६ थान, बहुविवाह ३ थान, अभद्र व्यावहार ५ थान र  घरेलु हिंसा १ थान मुद्दा दर्ता भएक छन् ।

जिल्ला अदालतले न्यायाधीश र सरकारी वकिलसहितको टोली गाउँमै गएर जनसमुदायको जनगुनासो सुन्ने, अदालतले दिने सेवाबारे जानकारी गराउने र विद्यार्थीलाई कानुनी विषयमा केहि जानकारी दिने उद्देश्यले विद्यालयमा कार्यक्रम गरिरहेको तहसिलदार खनियाले बताउनुभयो ।     

विद्युतको नियमित आपूर्ति नहुँदा अदालतका काम कारबाहीमा बढि समय लाग्ने गरेको र  केन्द्रमा परिक्षणका लागि पठाइएका भौतिक प्रमाणको समयमा परीक्षण भइ प्रतिवेदन प्राप्त नहँदा मार्ग समूह अनुसारको अवधि भित्र मुद्दा फर्छ्यौट गर्न नसकिने यस्ता समस्याले गर्दा सेवाग्राहीलाई समयमै सम्पादन गर्न नसकिएको गुनासो उहाँले गर्नुभयो ।