काठमाडौँ, असार ६ गते । तीन (संघ, प्रदेश, स्थानीय) तहको सरकारको समन्वयको अभावले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन सकेको छैन ।
उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको एक कार्यक्रममा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बरालले तीन तहको सरकारको समन्वयको अभावले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताउनुभयो ।
साथै, आधारभूत सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन नसक्नुको कारण औषधीको खरिद मूल्यमा एकरूपता नहुनु, औषधी समयमा खरिद नहुनु, औषधीको गुणस्तर जाँच नहुनु, मानवस्रोत अभाव रहेको उहाँको तर्क छ । उहाँले जिल्ला वा सो भन्दा माथिल्लो अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा पनि एकरूपता नभएको जिकिर गर्नुभयो ।
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.सुधा देवकोटाले तीन तहका सरकारले आधारभूत सेवा प्रभावकारी ढङ्गले सञ्चालन गर्न तीन तहका सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै व्यवस्थापन शाखा पूर्व निर्देशक भोगेन्द्रप्रसाद डोटेलले धेरै नागरिक आधारभूत सेवाको बारेमा जानकार नभएको बताउनुभयो । स्थानीय तहले सरकारले तोकेको आधारभूत सेवा पनि राम्रोसँग प्रवाह गर्न नसकेको उहाँको आरोप छ ।
घट्दै बजेटको सिलिङ
आधारभूत स्वास्थ्य सेवाको लागि औषधी खरिद गर्न उपचारात्मक सेवा महाशाखाबाट प्रदेश तथा स्थानीय तहमा बजेट विनियोजित हुँदै आएको छ । डा.बरालले आधारभूत स्वास्थ्य सेवाको औषधी खरिदको लागि स्थानीय तहमा विनियोजित हुने बजेट प्रत्येक वर्ष घट्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा १७ करोड तथा स्थानीय तहमा एक अर्ब ४० करोड सिलिङ्ग रहेकोमा स्थानीय तहको बजेट एक अर्ब ११ करोड मात्र स्वीकृत भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा १८ करोड ५० लाख तथा स्थानीय तहमा एक अर्ब २८ करोड बजेट विनियोजित भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा आधारभूत स्वास्थ्य सेवाको औषधी खरिदको लागि प्रदेशमा १९ करोड र स्थानीय तहमा एक अर्ब ४३ करोड बजेट विनियोजित भएको थियो ।
के हो आधारभूत सेवा ?
संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने उल्लेख गरेको छ ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ ले दफा ३ को उपदफा (४) ले आधाभूत स्वास्थ्य सेवा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट नि:शुल्क प्रदान गरिने उल्लेख गरेको छ ।
महाशाखाका निर्देशक डा.सुधा देवकोटाका अनुसार सबै आधारभूत स्वास्थ्य सेवाहरु निशुल्क हुन्छन् तर, सबै नि:शुल्क स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवा भित्र पर्दैन ।
के के पर्छन् आधारभूत सेवामा
आधारभूत स्वास्थ्य सेवामा खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवा, सरुवा रोग सम्बन्धी सेवा, नसर्ने रोग तथा शारीरिक विकलाङ्ग सम्बन्धी सेवा, मानसिक रोग सम्बन्धी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा सामान्य आकस्मिक अवस्थाका सेवा, स्वास्थ्य प्रवर्द्धन सेवा आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा पर्छन् ।
सरकारले आधारधूत सेवा अन्तर्गत ९८ प्रकारका औषधी तथा १८ प्रकारका औषधीजन्य सामग्री निःशुल्क वितरण गर्दै आएको छ । हालसम्म ४१३ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणधीन छन् । सरकारले स्थानीय तह अन्तर्गत रहेका करिब ३८ सय भन्दा बढी स्वास्थ्य संस्थाबाट आधारभूत सेवा प्रदान गर्दै आएको छ ।