• १८ असार २०८१, मङ्गलबार

एक्स–रे सेवा बन्द

blog

विष्णुप्रसाद पोखरेल-

दमक, असार १ गते । झापाको दमक अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । यो  दमकसहित आसपासका नगरपालिका र गाउँपालिकाहरूको समेत स्वास्थ्य बिमाको प्रथम बिन्दु अस्पताल हो ।सोमबार अस्पतालले सार्वजनिक सूचना गरेर नै एक्स–रे सेवा अर्को सूचना जारी नभएसम्मका लागि नपाइने उल्लेख गरेको छ । अन्य अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीको उपचार नहुने अवस्थामा एक्स–रे सेवा बन्द भएपछि बिरामीले सास्ती भोग्न सुरु गरेका छन् ।

यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको र एक्स–रे बिग्रिएका कारण समस्या भएको अस्पतालकी सूचना अधिकारी देवी दङ्गालले बताउनुभएको छ । सूचना अधिकारी दङ्गालका अनुसार अर्को एक्स–रे मेसिन काठमाडौँबाट मगाएको र आउन तीनदेखि चार दिन लाग्न सक्छ ।

केही दिन अघिको वर्षात्का कारण अस्पतालको परिसरमा जमेको पानी एक्स–रे भएको कोठामा समेत पसेकाले मेसिनमा समस्या आएको दङ्गालले जानकारी दिनुभएको छ । दैनिक कम्तीमा पनि १५० जनासम्म बिरामीको एक्स–रे हुँदै आएकोमा सेवाबाट बिरामी बञ्चित हुनेभएका छन् ।