• १० माघ २०८२, शनिबार

चेसमा नेपालका क्षितिज भण्डारी दोस्रो

blog

उपविजेता क्षितिज भण्डारी ।

काठमाडौँ, माघ १० गते । प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्‍यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडी चुकेका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न तीन लाख ३७ हजार रुपियाँ राशी पुरस्कार रहेको प्रतियोगिता रोमाञ्चक एवं प्रतिस्पर्धात्मक तवरले टुङ्गो लागेको छ ।प्रतियोगितामा भारतका १९०९ रेटेड किसन कुमारले आठ अङ्क प्रोग्रेसिभ ५३.५ प्वाइन्टका आधारमा उपाधि जित्नुभयो । 

प्रतियोगिताको अन्तिम नवौँ चरण पूर्व ६ जना खेलाडीको समान सात अङ्क रहेको थियो। पहिलो वोर्डमा एफएम क्षितिज भण्डारीले १८३१ रेटेड महेन्द्रकुमार साम्बाहाम्फे विरुद्ध जीत दर्ता गर्नुभएको थियो । 

दोस्रो बोर्डमा प्रोग्रेसिभ प्वाइन्ट धेरै बनाउनुभएका राजन सुवेदी आशीष फूँयालसँग पराजित हुनुभयो । तेस्रो वोर्डमा किसन कुमारले बढि प्रोग्रेसिभ प्वाइन्ट भएका आकाश सुवेदीलाई हराउँदै उत्कृष्ट टाइब्रेक बनाई उपाधि जित्नुभएको हो । उपाधिसँगै उहाँले ३५ हजार रुपियाँ पाउनुभयो । 

नेपालका शीर्ष २११७ रेटेड क्षितिज भण्डारी समान आठ अङ्क जोड्दै उपविजेता बन्न्ुभयो । उहाँको हातमा ३० हजार रुपियाँ पर्‍यो । समान आठ अङ्क बनाउनुभएका नेपालका २०६९ रेटेड आशीष फूँयाल तेस्रो बन्दै २५ हजार रुपियाँ पाउनुभयो । 

यसैगरी सात अङ्क जोडेर फिडे लज अफ रुल, डाइरेक्ट इन्काउन्टर, बुछोल्स कट वान टु र मोष्टवीन नम्बर अफ वीनका आधारमा क्रमशः स्याङ्जाका अनरेटेड आकाश सुवेदी चौथो बन्दै २० हजार रुपियाँ पाउनुभयो । 

महिलातर्फ झापाकी कृतिसरा अधिकारी पहिलो, राधिका पौडेल दोस्रो र उज्जीविनि कँडेल तेस्रो हुनुभयो । शीर्ष तीनले क्रमशः सात हजार, ६ हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा ४२ खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई बागमती प्रदेश सभासद् दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।