• १० माघ २०८२, शनिबार

अर्जुन र फुलमती झिल्टुङ दौडमा च्याम्पियन

blog

उपाधि विजेता फुलमती राना र अर्जुन बुढा ।

काठमाडौँ, माघ १० गते । त्रिभुवन आर्मी क्लबमका अर्जुन बुढा र नेपाल एपिएफ क्लबकी फुलमती रानाले १०औँ झिल्टुङ क्रस कन्ट्री दौडको उपाधि जित्नुभएको छ ।

शनिबार भएको खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमती च्याम्पियन बन्नुभएको हो । अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गर्नुभयो ।

ताप्लेजुङका रमेश लिम्बू दोस्रो र रुकुमका ठकेन्द्र शर्मा तेस्रो हुनुभयो । महिलामा फुलमतीले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड समय खर्चिनुभयो । आर्मीकी राज्यलक्ष्मी रावल दोस्रो एपिएफकी सुशिला महत तेस्रो हुनुभयो । 

बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानियको जुनियर यु–१६ छात्र ४.५ किलोमिटरमा आशिष तामाङ र छात्रामा सिलसिला कुँवरले स्वर्ण जित्नुभयो । 

स्थानियतर्फ भेट्रान ४५ वर्षमाथि चन्द्रमान श्रेष्ठ श्रेष्ठ आमा समूहको ४.५ किलोमिटरमा सनिता श्रेष्ठ र भेट्रान पुरुष खुलाको १३.४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण जित्नुभयो । 

जुनियर यु–१८ छात्रको ४.५ किलोमिटरमा बादल कार्की र छात्रामा प्रनिशा कार्की पहिलो, स्थानियको पुरुष १३.४ किलोमिटर दूरीमा विमल थापामगरले बाजी मार्नुभयो । 

विजेतालाई निवर्तमान सांसद् विमला सुवेदी, बेलकोटगढकी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिव दाहाल, बेलकोटगढी नगरपालिका वडा ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, रेस डाइरेक्टर राजन खत्रीलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

प्रतियोगिताको कूल पुरस्कार राशी तीन लाख ६४ हजार रुपियाँ रहेको थियो । दौडमा विभिन्न स्पर्धामा तीन सय खेलाडीको सहभागिता रहेको थियो ।