• ११ पुस २०८१, बिहिबार

फोहोर व्यवस्थापनमा देशकै नमुना धनकुटा

blog

धनकुटा (हिले), असार १ गते । काठमाडौं लगायतका अन्य मुख्य सहरहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धले विकराल रुप लिँदै आएको छ । तर धनकुटाको फोहोर व्यवस्थापनको मोडेल देशकै नमुना बनेको छ । यहाँका फोहोर व्यवस्थापनको तरिका हेर्न देसैभरबाट आउने गरेका छन् । 

फोहोर व्यवस्थापनको तरिका सिक्नकै लागि त्यहाँसम्म पुग्ने गरेको हुन् । धनकुटामा फोहोर हेर्न फोहोर व्यवस्थापन केन्द्रनै पुग्नपर्छ । बजार क्षेत्रमा प्रायः फोहोर देख्न पाइँदैन । तर फोहोर व्यवस्थापन केन्द्रमा फोहोर मात्रै हैन फोहोरमाथि फूलबारी छ । जसले सबैको मन खिच्ने गरेको छ । त्यसैले धनकुटा पुगेर फोहोर व्यवस्थापन केन्द्र हेरेकाले भन्ने गरेको छन् फोहोर व्यवस्थापन त धनकुटाको जस्तो हुनुपर्छ ।

फोहोर व्यवस्थापन सिक्ने ठाउँ धनकुटा भएकोले धनकुटा घुम्न आएका चितवनको भरतपुर महानगरपालिकाका जयमङ्गल कुमालले बताउन भयो । ‘राम्रो नियम भएकाले सडक किनारमा फोहोरका डङ्गुर देखिएन गर्दा हुँदोरहेछ अरुले सिक्ने ठाउँ भएको रहेछ धनकुटा नगरपालिका ।’ उहाँ भन्नुहुन्छ । 

सुन्दर ल्याण्डफिल्ड साइड बनाउन खोज्दा खोज्दै यो ठाउँ पर्यटकीय क्षेत्र बनेको छ । धनकुटा नगरपालिकाकाको तथ्याङ्क अनुसार यो महिनासम्म २५० समूह ल्याण्डफिल्ड साइड हेर्न आए । जसमा धेरै जसो स्थानीय तहका जनप्रतिनिध र कर्मचारीहरु आएका छन् ।  

व्यवस्थापनले राम्रो आम्दानी लिँदै नगरपालिका

‘मिसाए फोहोर, छुट्याए मोहर’ भन्ने नारालाई चरितार्थ गर्दै धनकुटा बजार क्षेत्रबाट सङ्कलित फोहोरबाट केही वर्षयता नगरपालिकाले राम्रो आम्दानी गरिरहेको छ । धनकुटाको हिले र धनकुटा बजारबाट दैनिक १६ टन फोहाेर सङ्कलन हुन्छ । जसमध्ये धनकुटा सदरमुकामको कचिडेमा रहेको यो केन्द्रमा दैनिक १२ टन फोहाेर मात्र सङ्कलन हुने गरेकाे छ । अन्य फोहोर स्थानीयले कम्पोष्ट मल बनाउने गरेका छन् ।

यहाँ सङ्कलन भएको फोहोरलाई नगरपालिकाले व्यापारीमार्फत छानेर छुट्याएको  सङ्कलित ठोस फोहरलाई प्रतिकिलो तीनदेखि सात सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ । यसरी सङ्कलित फोहोरबाट छुट्याइएका वस्तुविक्री गरेर नगरपालिकाले वार्षिक एक लाख ६० हजार रुपियाँ आम्दानी गरिरहेको छ । पुनः प्रशोधन गर्न सकिने फोहोर बेच्दा आम्दानीसँगै ल्यान्डफिल्ड समेत सफा भएको छ । ‘बिक्रि हुने वस्तु बिक्री र नहुनेलाई माटोले पुर्दै आएका छन् । 

यसको कारणले व्यवस्थापकीय सफलताले धनकुटा २०७३ सालमा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर घोषित भयो र नगरपालिकाले सरकारबाट सात लाख रुपियाँ पुरस्कार पायो । त्यस्तै २०७४ सालमा सफा नगरमा नेपालमै प्रथम भयो र १० लाख रुपियाँ पुरस्कार पाएको थियो । हाल यो ल्याण्डफिल्ड साइडबाट नगरपालिकाले वार्षिक ४० हजार राजस्व पनि कमाउँछ । यहाँबाट पुनः प्रयोग हुने सामान टिपेर फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापा थप रकम  आम्दानी गर्ने गर्छन् । यो ल्याण्डफिल्ड साइडमा १० जनालाई रोजगारी पनि दिनुभएको छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।