• २२ साउन २०८२, बिहिबार

फक्ताङलुङ गाउँपालिका अध्यक्षको पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकालाई

blog

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ।

साहारा लिम्बू 
फुङलिङ, साउन २
 गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले आफूले पाउने पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकाका लागि खर्च गर्नुहुने भएको छ । उहाँले प्रदेश सरकारले निर्दिष्ट गरेबमोजिमको मासिक सेवा सुविधा बापत हालसम्मको साढे १५ लाख रुपियाँ बढि खर्च गर्नुहुने भएको हो ।

अध्यक्ष लिम्बुका अनुसार अहिलेसम्मको उक्त पारिश्रमीक बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था स्थापना गरी सो संस्थाको खातामा जम्मा गरिएको छ । उहाँले प्राप्त गर्नुपर्ने मासिक सुविधा वापत हालसम्म १५ लाख ५९ हजार नौ सय २० रुपियाँ रकम रहेको छ ।

उक्त रकम पालिका भित्र रहेका अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि खर्च हुने भएको छ । यसलाई पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष लिम्बूले निर्वाचनताका आफूले निर्वाचन जिते आफूले मासिक पारिश्रमिक नलिने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक वापतको रकम अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाहरूलाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति बनाई चालु आर्थिक वर्षबाट नै सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।