• १२ असार २०८१, बुधबार

हुलाकी राजमार्ग निर्माण कार्य अन्तिम चरणमा

blog

वसन्ता कोरिडोर क्षेत्रस्थित हुलाकी राजमार्गमा कालोपत्रेको काम हुँदै । तस्बिर : प्रवीण बौखही

धनगढी समाचारदाता

धनगढी, असार १ गते । वनको अवरोधका कारण लामो समयसम्म निर्माण कार्य हुन नसकेको कैलालीको वसन्ता कोरिडोर क्षेत्रस्थित हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुन लागेको छ । वन क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर सडक निर्माणको काम यसै वर्षबाट सुरु भएपछि निर्माण कार्य पूरा हुन लागेको हो । सो सडकखण्डमा कालोपत्रे भइरहेको छ । केही हप्ताभित्रै निर्माणकार्य पूरा हुने हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । 

“कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ,” आयोजनाका सूचना अधिकारी इन्जिनियर पदम मडैले भन्नुभयो, “अबको केही हप्ताभित्रै निर्माण कार्य पूरा हुन्छ ।” त्यसो त सो सडकखण्ड निर्माणको समयावधि असार मसान्तसम्म मात्रै रहेको छ । यद्यपि असार मसान्तअगाडि नै कालोपत्रे भइसक्ने इन्जिनियर मडैले बताउनुभयो । 

वसन्ता कोरिडोर क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि २०७३ सालमा तुण्डी, प्रेरा, चन्द्रा एन्ड वसन्ता जेभीसँग ठेक्का सम्झौता भएको थियो । पाँच वर्ष समयावधिमा पूरा गर्नुपर्ने सो खण्डको निर्माण पूरा गर्न छ वर्ष लागेको छ । वन क्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर सडकखण्डमा बेलैमा राजमार्ग निर्माणको कार्य पूरा भए पनि दुई किलोमिटर क्षेत्र भने वनले रोकेको थियो । 

लामो समयसम्म रुख कटानको आदेश प्राप्त नभएपछि सो ठाउँमा काम अगाडि बढ्न सकेको थिएन । पटक–पटक म्याद थप हुँदै आएकोमा गत वर्ष मात्रै मन्त्रिपरिषद्को निर्णयले रुख कटानको आदेश दिएको थियो ।  कैलारी गाउँपालिका–५ को कटैनी पुलदेखि वडा नम्बर ७, छटकपुर वसन्तासम्म दुई किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनेछ । वसन्ता कोरिडोर क्षेत्रमा सडक निर्माणका लागि निर्माण कम्पनीले करिब ३३ करोड रुपियाँमा ठेक्का पाएको थियो । 

यसैगरी भजनी नगरपालिका–५, लालबोझीमा कान्द्रा नदीले हुलाकी राजमार्ग कटान गरेको स्थानमा ड्याम बनाउनका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । गत वर्षको बाढीले लालबोझीमा चार सय मिटर हुलाकी राजमार्गलाई कटान गरेको थियो । 

त्यहाँ अब ड्याम बनाएर मात्रै राजमार्ग निर्माणको काम हुने मडैले बताउनुभयो । उहाँले यस वर्ष ठेक्का भएर आगामी आर्थिक वर्षबाट ड्याम बनाउने कार्य हुने जानकारी दिनुभयो । धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी रहेको हुलाकी राजमार्ग सन् २०१० बाट कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । 

हुलाकीको स्तरोन्नति र नदीले कटान गरेको ठाउँबाहेक बाँकी अन्य काम अन्तिम चरणमा पुगेको जनाइएको छ । धनगढीको क्याम्पस रोडदेखि मनहेरासम्म चार लेन र बाँकी सबै ठाउँमा दुई लेनमा हुलाकी राजमार्ग विस्तार भइरहेको छ । हुलाकी राजमार्ग स्तरोन्नतिको समयावधि आगामी पुससम्म रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

“तर कामको गति हेर्दा पुस मसान्तसम्म स्तरोन्नतिको काम सकिने जस्तो देखिँदैन,” इन्जिनियर मडैले भन्नुभयो । हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षको हालसम्म ३७ करोड रुपियाँ खर्च भएको जनाइएको छ । “जसमध्ये कैलालीमा २५ करोड र बाँकी रकम कञ्चनपुरमा खर्च भएको छ,” उहाँले थप्नुभयो ।