• १३ साउन २०८१, आइतबार

तीनलाल स्मृतिपार्क सञ्चालनमा आएन

blog

रामेछापको मन्थली नगरपालिका–१ स्थित हाटेचौरमा निर्माणाधीन गत वर्ष नै सञ्चालन हुनुपर्ने तीनलाल स्मृति पर्यटकीय पार्क । तस्बिर : नवराज श्रेष्ठ

रामेछाप समाचारदाता

रामेछाप, असार १ गते । रामेछाप जिल्लाको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुलसहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन । मन्थली नगरपालिका–१ स्थित हाटेचौरमा गत आर्थिक वर्ष २०७७/०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समयसहित गत चैतसम्ममा निर्माण सम्पन्न गर्ने र गत वैशाखको पहिलो हप्ताबाट सञ्चालन गर्ने नगरपालिकाको योजना थियो ।

निर्माण कम्पनीले समयमै काम नसक्दा यसअघिका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आफ्नो कार्यकालमा यो पार्क सञ्चालनमा ल्याउन सक्नुभएन । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आइसके पनि नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको पार्क सञ्चालनमा ध्यान दिएको देखिँदैन । 

पार्कको करिब-करिब सबै काम सकिएको भए पनि स्विमिङ पुलको केही प्राविधिक काम र केही वाइरिङको काम बाँकी रहेकोे नगरपालिकाका प्राविधिक शाखाका प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । 

उहाँले सबै काम सकेर पनि निर्माण कम्पनी पाँच पोखरी कन्स्ट्रक्सनले सामान्य काम नसक्दा गत वर्षबाटै सञ्चालनमा आउनुपर्ने पार्क अझै सञ्चालन गर्न नसकिएको बताउनुभयो । छ करोड ८८ लाख रुपियाँमा पार्क निर्माण गर्ने गरी पाँच पोखरी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । पार्कका लागि मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानी रहेको छ ।

पार्कमा तीनवटा स्विमिङ पुल, सभाहल, प्रशासकीय भवन, चेन्जिङ रुम, चमेना गृहलगायतका संरचना बनेका छन् । एकै पटक तीस जनाभन्दा बढीले स्नान गर्न सक्ने गरी महिला पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै पौडी पोखरी निर्माण गरिएको छ । पार्क १५ महिनामा काम सक्नुपर्ने गरी सम्झौता भएको थियो । 

तर, निर्माण कम्पनीले कोरोना भाइरस, मूल्य वृद्धिलगायतको बहाना बनाएर काममा ढिलाइ गरिरहेको छ । नगरप्रमुख लव श्रेष्ठले पार्कको बाँकी रहेको काम छिटो सकेर सञ्चालन गर्नेबारेमा निर्माण कम्पनी, प्राविधिकलगायतसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताउनुभयो । नगरपालिकाको नमुना आयोजना भएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्नेबारेमा नगरपालिका गम्भीर रहेको उहाँको भनाइ छ ।