गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसकिने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसदमा राख्न नदिने काम गरिरहेको बताउनुभयो ।
उहाँले संसद आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताउनुभयो । शोक प्रस्ताव राख्दा पनि वेल घेराउ गरिरहनु सहिदप्रतिको अपमान भएको उहाँको भनाइ छ । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसदको मर्यादा गिराएको बताउनुभयो । अशोभनीय व्यवहार र प्रवृत्ति संसदमै देखिनु राम्रो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा लामो समयसम्म यस प्रकारको अवरोध मात्र कायम राखिरहने, यस प्रकारको मनसायबाट हिँडिरहने उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ ।’
वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध भएको उहाँले बताउनुभयो । सरकारी बिजनेस कार्यसूचिबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउनेजस्ता अशोभनीय व्यवहार भइरहेको उहाँले टिप्पणी गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद बैठकबाट अघि बढाइने उहाँले जानकारी दिनुभयो ।