• १ असार २०८२, आइतबार

बालापुरमा चितुवा नियन्त्रणमा

blog

पासोमा नियन्त्रणमा आएको चितुवा ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) असार १ गते । बर्दियाको गुलरिया नगरपालिका ५ बालापुरमा मानव वस्तीमा पसेर आतङ्क मच्चाउने अर्को चितुवा नियन्त्रणमा आएको छ। गते जेठ १४ गते चितुवाको आक्रमणबाट ७ वर्षीया बालिका सायरा थारूको मृत्यु भएपछि चितुवा नियन्त्रणको प्रयास गरिएको थियो । 

जेठ २१ गते सोही स्थानबाट एक चितुवा नियन्त्रणमा लिइएको थियो भने आज पनि चितुवा पासोमा परेको छ । जेठ १४ गतेदेखि नै डिभिजन वन कार्यालय बर्दियाले विभिन्न स्थानमा चितुवा नियन्त्रणका लागि पासो थाप्दै आएको थियो । गएराती मात्र चितुवा पासोमा परेको हो । 

डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी रामकुमार चौधरीले करिब ७ वर्षको पोथी चितुवा पासोमा परेको बताउनु भयो । उहाँले चितुवालाई सुरक्षित स्थानमा पठाउने तयारी भइरहेको बताउनु भयो । गत जेठ २१ गते नियन्त्रणमा लिइएको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । 

चितुवाको आतङ्कका कारण त्रसित बनेका बर्दियावासी चितुवा नियन्त्रणमा आएपछि हर्षित भएका छन् । चितुवा नियन्त्रणमा आएपछि राहत महसुस भएको गुलरिया नगरपालिका वडा ५ बालापुरका मुल बडघर कालीप्रसाद थारूले बताउनुभयो । 

पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत वैशाख १५ गते गुलरिया नगरपालिका वडा ५ मा रहेको सर्यु सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय बर्दियाका अनुसार गत मङ्सिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।