• २ माघ २०८१, बुधबार

कोस्टारिका विश्वकपमा छनोट

blog

न्युजिल्यान्डविरुद्ध गोल गरेपछि खुशी मनाउँदै कोस्टारिकाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असार १ गते । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गर्नुभयो । 

क्याम्पबेलले तेस्रो मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । ६९औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कने योजना सफल बन्न सकेन । कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ वटै टोलीको टुंगो लागेको छ । 

कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो । कतार विश्वकपमा कोस्टारिकाले समूह ‘ई’ बाट स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ । लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको कोस्टारिका छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

पहिलो पटक १९९० को विश्वकपमा छनोट भएको कोस्टारिकाले त्यसपछि सन् २००२, २००६, २०१४ र २०१८ मा विश्वकप खेलेको थियो । कोस्टारिका २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो । फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका हुनेछ । एजेन्सी