कविराज घिमिरे
हिले, जेठ ३० गते । धनकुटाको चौबिसे गाउँपालिकाले गोठिया काठ कटानी तथा ढुवानी कार्य आगामी तीन महिनाका लागि पूर्ण रूपमा रोक लगाएको छ ।
गाउँपालिकाको कार्यालयले गोठिया काठको अनियन्त्रित कटानी, ढुवानी तथा ओसार–पसारका कारण वन विनास, सडक क्षति र वातावरणीय असर बढ्न थालेपछि असार २ गतेदेखि भदौ मसान्तसम्म तीन महिनासम्म काठसम्बन्धी सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाइएको गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
बर्खामा बाटो भत्कने तथा विपद् आउने सम्भावना भएकाले जोखिम न्यूनीकरण गर्न तिन महिनालाई रोक लगाइएको चेम्जोङले बताउनुभयो । गाउँपालिकाले वर्षपक्षिय बैठक राखेर सो निर्णय गरेको हो ।
बैठकमा चौबिसे गाउँपालिका, इलाका वन कार्यालय, इलाका प्रहरी कार्यालय, राजारानी तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । बैठकले यस अवधिमा गोठिया काठको कटानी, ओसार–पसार, बिक्री तथा ढुवानीमा संलग्न पाइएमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ । त्यस्तै नियमअनुसार कटान गरिसकिएको काठलाई भने असार २ गतेसम्म ओसार–पसार गर्न पाइने पालिकाले जनाएको छ ।